प्रधानमन्त्रीले भारत र चीन भ्रमणमा लिपुलेकको प्रश्न स्पष्ट र दृढतापूर्वक उठाउनुपर्छ: रास्वपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विषय स्पष्ट र दृढतापूर्वक उठाउन सरकारसँग माग गरेको छ।

पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि तथा अन्य ऐतिहासिक दस्तावेजका आधारमा उक्त भूभाग नेपालकै अविभाज्य अंश भएको उल्लेख गरेका छन्। भारत र चीनबीच लिपुलेक हुँदै परम्परागत व्यापार नाका खोल्ने सहमति प्रति आपत्ति जनाउँदै उनले यस विषयमा नेपालको प्रत्यक्ष सहभागिता र सहमति विना कुनै पनि गतिविधि वैध नहुने बताएका छन्।

‘यस संवेदनशील विषयलाई उच्च प्राथमिकताका साथ प्रधानमन्त्रीले उठाउनु आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सरकारको तयारीबारे स्पष्टता आवश्यक छ र रास्वपाले संसदमा यस विषयमा उठाएको ध्यानाकर्षणको सरकारले वेवास्ता गरेकोप्रति पनि चिन्ता छ।’

रास्वपाले राष्ट्रिय अखण्डता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मानेको जनाएको छ। साथै, यो विषय सत्तापक्ष र प्रतिपक्षको नभई साझा राष्ट्रिय सहमतिको माध्यमबाट समाधान खोजिनुपर्ने उल्लेख गर्दै रास्वपाले सरकारलाई आवश्यक परे सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारेको छ।

पूरा विज्ञप्ति पढ्नुहोस्:
नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा हिमाल झै अडिग रहेको छ । नेपालको यस क्षेत्रमाथिको अधिकार ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी प्रमाणहरूले निर्विवाद रूपमा स्थापित गर्दछ ।

अपितु, गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनबीच नेपाली भुभाग लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग पुनः खोल्ने विषयमा भएको हालैको सम्झौतापछि नेपाल सरकारले प्रस्तुत गरेको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस संवेदनशील विषयलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने दायित्व नेपाल सरकारकै हो भन्नेमा रास्वपा दृढ भई संसदबाट तत्कालै रास्वपाले ध्यानाकर्षण गराएको पुन:स्मरण गराउन चाहन्छौँ । यद्यपि, संसदमा हामीले उठाएको नक्सा र राष्ट्रियताको विषयप्रति सरकारले देखाएको अनिच्छाप्रति रास्वपा सशंकित बनेको छ । यसैले देशभित्र उठेका सन्देह र प्रश्नहरूमा सरकारको तयारीबारेमा सार्वजनिक स्पष्टताका साथ प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गरियोस् भन्ने रास्वपाको माग रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्दछ । नेपाली भुभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना वैध मान्न सकिँदैन । यस विपरितका कार्य हुन्छन् भने तिनले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरीत भएको मानिनेछ भन्नेमा रास्वपा स्पष्ट छ ।

साथै, विवादहरूको समाधान सत्तापक्ष र प्रतिपक्ष नभई सर्वात्मना एकमतले कूटनीतिक, शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट खोजिनुपर्छ भन्ने अटल सिद्धान्तमा पार्टी प्रतिबद्ध रहेको छ । यस विषयमा सरकारलाई आवश्यक पर्ने सहयोग गर्न रास्वपा तयार रहेको समेत जानकारी गराउँदछौँ ।

शिशिर खनाल
प्रमुख
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।