एउटै खोलामा ६ वटा जलविद्युत् आयोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत् उत्पादनको केन्द्र बिन्दुका रूपमा तीव्र गतिमा विकास भइरहेको छ। स्थानीय प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्दै हालसम्म दुई जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् भने चार आयोजना निर्माणाधीन तथा प्रक्रियामा रहेका छन्।

गाउँपालिका–२ र ३ मा पर्ने दरमखोला ‘ए’ (२.५ मेगावाट) जलविद्युत् आयोजना सयपत्री हाइड्रो कम्पनीले निर्माण सम्पन्न गरी विद्युत् उत्पादन थालिसकेको छ। यो कम्पनीको पहिलो निजी लगानीमा सञ्चालित आयोजना हो। यसअघि ताराखोलामा समुदायको सक्रियतामा केही साना लघु जलविद्युत् आयोजना सञ्चालनमा थिए।

यसअघि नै सम्पन्न भएको ताराखोला जलविद्युत् आयोजना (३८० किलोवाट) पाँच वर्षअघि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। हाल मध्यताराखोला मध्यदरम ‘ए’ (४ मेगावाट) आयोजना अन्तर्गतको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। परियोजना सञ्चालक मिलन खतिवडाका अनुसार पूर्वाधार निर्माणको ४० प्रतिशत कार्य सम्पन्न भइसकेको छ।

यस्तै, तल्लो ताराखोला (३.५ मेगावाट) र मध्यदरम ‘बी’ (४.५ मेगावाट) आयोजनाहरू हाल निर्माण प्रक्रियामा छन्। यी आयोजनाहरू सम्पन्न भएपछि ताराखोलाले कुल १५ मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ।

ताराखोलालाई जलविद्युत् हबका रूपमा विकास गर्न स्थानीय सरकार र जनसमुदायको सहकार्यमा परियोजनाहरू अघि बढिरहेका छन्। गाउँपालिका अध्यक्ष धनबहादुर विकले स्थानीयको समेत लगानी भएका यी आयोजनाहरूले आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, “मध्यदरम ‘ए’ र ताराखोला आयोजनाले गति लिँदा अन्य आयोजनाहरू पनि अघि बढेका छन्। सफल भएमा यसले समग्र गाउँपालिकाको आर्थिक रुपान्तरण ल्याउनेछ।”

गाउँपालिकाका पूर्व अध्यक्ष प्रकाश घर्तीले जलविद्युत् आयोजनाहरूले स्थानीयमा उत्साह र विश्वास बढाएको बताए। “हाम्रो गाउँपालिकामा विद्युत् उत्पादनका लागि आयोजना बन्नु गर्वको कुरा हो,” उनले भने, “यसले आर्थिक उन्नयनसँगै नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ।”

ताराखोलामा विकास हुँदै गरेका यी आयोजनाहरूले प्रदेश र राष्ट्रको ऊर्जा सुरक्षामा समेत योगदान गर्ने अपेक्षा गरिएको छ। जलविद्युत्मार्फत स्थानीय आर्थिक समृद्धिको नमूना निर्माणतर्फ ताराखोला अग्रसर देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।