काठमाडौं । नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सामाजिक सञ्जालमार्फत सुरुङमार्ग चाँडै सञ्चालनमा आउने र यात्रुहरूको लामो समयको कठिनाइ अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।
२२ अर्ब रुपैयाँ लागतमा बन्ने कूल २.६८ किलोमिटर लामो यो सुरुङमार्गमा साढे तीन मिटर चौडाइका दुई लेन तयार गरिएको छ। विस्फोटक पदार्थ प्रयोग नगरी ‘टनेल बोरिङ मेसिन’ प्रविधिबाट निर्माण भएको यस परियोजनाले हालसम्म ९३ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट नौबिसे १० मिनेटमै पुग्न सकिने र कम्तीमा ३० मिनेट यात्रा समय बचत हुने अपेक्षा गरिएको छ।
यो आयोजना अन्तर्गत मुख्य र सहायक गरी दुई सुरुङमार्ग निर्माण गरिएको छ। मुख्य मार्गमा सवारी सञ्चालन हुने छ भने सहायक मार्ग आपतकालीन अवस्थाका लागि प्रयोग गरिने छ। पूर्वी खण्डमा २.५ किमी एप्रोच सडक र बलम्बुस्थित ओभरपास अन्तिम चरणमा पुगेका छन् भने पश्चिम खण्डमा बनाइने भनिएको रोड साइड स्टेसन भने अझै अधुरो छ।
निर्माण जिम्मा लिएको जापानी कम्पनी हाजमा कर्पोरेशनले सबै काम सकी आगामी अक्टोबरको अन्तिमसम्म नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। हस्तान्तरणपछि ट्रायल सञ्चालन गरी २०२६ जनवरी (पुस १७ गते) बाट सर्वसाधारणका लागि पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ।
सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि टोल शुल्क तोकेको छ। काठमाडौं भित्रँदा कार र भ्यानले ६५ रुपैयाँ र फर्कदा ६० रुपैयाँ, मिनीबस र ट्रकले भित्रँदा ११५ र फर्कदा ८० रुपैयाँ, ठूला बस र ट्रकले भित्रँदा २६० र फर्कदा २०० रुपैयाँ, र भारी उपकरणले भित्रँदा ६०० तथा फर्कदा २५० रुपैयाँ तिर्नुपर्नेछ। उठेको शुल्क सडक बोर्डको खातामा जम्मा हुनेछ।
सुरुङमार्गमा आधुनिक प्रविधि जडान गरिएको छ। ट्राफिक निगरानीका लागि प्रत्येक १५०–२०० मिटरमा सीसी क्यामेरा, आपतकालीन सञ्चारका लागि टेलिफोन, हानिकारक ग्यास फिल्टर गर्न प्रणाली, अक्सिजन प्रवाह कायम राख्न १५ वटा जेट फ्यान, भिजिबिलिटी मीटर र कन्ट्रोल रुमको व्यवस्था गरिएको छ। साथै, आपतकालीन उद्धारका लागि एम्बुलेन्स र आवश्यक उपकरण तयारी अवस्थामा राखिने जनाइएको छ।
यससँगै राजधानी प्रवेश र निर्गमनमा देखिने दैनिक जाम समस्या कम हुने मात्र होइन, यात्रा समय पनि उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।
Comment