चोलेन्द्रको घरमा छापाबारे सरकारका प्रवक्ताले भने : सरकारी निकायको नियमित प्रक्रिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निवासमा गरिएको खानतलासी तथा सम्पत्ति छानबिनलाई सरकारी निकायहरूको नियमित कार्य भएको जनाएको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले ‘केही समयअघि पूर्वप्रधानन्यायाधीश राणालाई सुरक्षा उपलब्ध गराएको सरकारले अहिले उनको निवासमै पुगेर खानतलासी तथा सम्पत्ति छानबिन किन गर्‍यो?’ भन्ने प्रश्न गरेका थिए।

प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले सरकारी निकायहरूले आफ्नो नियमित जिम्मेवारीअनुसार काम गरिरहेको बताए। उनले यस विषयमा हाल थप टिप्पणी आवश्यक नरहेको उल्लेख गर्दै सम्बन्धित निकायले आवश्यक परे थप जानकारी सार्वजनिक गर्ने स्पष्ट पारे।

“सरकारी निकायले आफ्नो नियमित कामहरू गरिरहेको छ। त्यसमा थप केही खुलाउनुपर्ने आवश्यकता भए सम्पत्ति शुद्धीकरण विभाग अथवा सम्बन्धित मन्त्रालयबाट जानकारी आउँछ। अहिलेका लागि यसलाई सरकारी निकायले गरिरहेको नियमित कामका रूपमा नै हेर्नुपर्छ,” प्रवक्ता पोखरेलले भने।

हालै पूर्वप्रधानन्यायाधीश राणाको निवासमा भएको खानतलासी र सम्पत्ति सम्बन्धी छानबिनबारे विभिन्न अड्कलबाजी भइरहेका बेला सरकारको यो प्रतिक्रिया सार्वजनिक भएको हो। यद्यपि, छानबिनको प्रकृति, उद्देश्य तथा प्राप्त विवरणबारे सम्बन्धित निकायहरूले औपचारिक रूपमा कुनै विस्तृत जानकारी दिएका छैनन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।