काठमाडौं । आपराधिक गतिविधिका कारण पटक-पटक विवादमा आइरहने राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकाले डिपोर्ट (निष्कासन) गरेको छ।
अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आईसीई)को हिरासतमा करिब पाँच महिना रहेका थापा २०८२ साउन २२ गते राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए।
उनलाई ‘इमिग्रेसन जज’ द्वारा नेपाल डिपोर्ट गर्ने निर्णय भएको थियो। सन् २०२५ मार्च ११ मा अमेरिकाको पेन्सिलभेनियया पुगेका उनी विमानस्थलमै समातिएका थिए।
उनलाई पक्राउ गरी नेपाल डिपोर्ट गरिदिन अमेरिकी सरकारले १९ गते आदेश दिएको थियो। सोही अनुसार उनी डिपोर्ट भए। अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएका उनलाई अध्यागमन विभागले आवश्यक प्रक्रिया पुरा गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो।
ब्युरोले उनलाई आवश्यक जानकारी सम्बन्धी फारम भर्न लगाएर उनलाई छाडिएको छ। अमेरिकामै रहँदा गम्भीर अपराधमा पक्राउ परेका उनी रवि लामिछानेका निकट र रास्वपालाई अमेरिकामा विस्तार गर्नेमध्येका एक मानिन्छन्। उनी रविकै जोडबलमा पार्टीको केन्द्रीय सदस्य मनोनीत भएका थिए।
म्याग्दीका मोहन अमेरिकाको बाल्टिमोरमा बस्दै आएका थिए। थापा फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल समेत परेका थिए।
Comment