काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भूभाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावका साथै, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
इलाममा अत्यधिक वर्षा
मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ ।
बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको छ । झापाको अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, उदयपुरको गाईघाटमा ११४.४ मिलिमिटर वर्षा भएको छ ।
कास्कीमा पनि पछिल्लो २४ घण्टामा १२४ मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा १०८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा धेरै भारी वर्षा भएको विभागले जनाएको छ ।
अन्य नौ मापन केन्द्रमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ । यो भारी वर्षा हो । विभागका अनुसार झन्डै ५० भन्दा बढी वर्षा मापन केन्द्रमा ५० देखि ६० मिलिमिटरको बीचमा वर्षा भएको छ ।
प्राप्त विवरणअनुसार ती जिल्लाबाहेक दार्चुला, डोटी, जुम्ला, बाजुरा, जाजरकोट, रुकुम, पर्वत, सुर्खेत, गुल्मी, रुपन्देही, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, बारा, काठमाडौँका तीन जिल्ला, दोलखा ओखलढुङ्गा, सङ्खुवासभा, धनकुटा, धनुषा, उदयपुर, झापालगायत जिल्लामा वर्षा भएको छ ।
मङ्गलबारदेखि पुनः मनसुन सक्रिय भएर बुधबार देशभर बदली भई धेरै ठाउँमा वर्षा भएको हो । विभागका सूचना अधिकारी दिनकर कायस्थले मनसुन सक्रिय भइरहेको बताउनुभएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भू–भागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने जनाएको छ ।
हाल देशभर पूर्णतया बदली रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।
Comment