काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज भव्य रूपमा सम्पन्न भएको छ। गत बुधवारदेखि सुरु भएको यो ६ दिने एक्स्पोले करिब १ लाख दर्शकलाई आकर्षित गरेको आयोजक संस्थाले जनाएको छ।
एक्स्पोमा नेपाल तथा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरू, नयाँ प्रविधियुक्त इलेक्ट्रिक भेहिकल्स, कार, मोटरसाइकल, स्कूटर, तथा अटो पार्ट्स को प्रदर्शनी गरिएको थियो। यसले नेपाली अटोमोबाइल उद्योगको भविष्यबारे जनचेतना फैलाउने मात्र नभई नयाँ सम्भावनाको ढोका पनि खोलिदिएको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यको भनाइ छ।
अध्यक्ष वैद्यले भनिन्, “पहिलो प्रयासमै १ लाख अवलोकनकर्तालाई आकर्षित गर्नु हाम्रो संस्था र सम्पूर्ण अटो उद्योगको लागि गर्वको विषय हो। यसले उद्योगलाई नयाँ दिशा र हौसला दिएको छ।”
एक्स्पोले अटोमोबाइल बजारमा देखिएको नयाँ ट्रेन्ड, प्रविधिमा भएको विकास, र इको–फ्रेन्डली मोबिलिटीप्रति सर्वसाधारणको चासोलाई उजागर गरेको छ। वैद्यका अनुसार, यो एक्स्पोले नेपालको अटोमोबाइल उद्योगको दीर्घकालीन सम्भावनालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
नाइमाले आगामी वर्षहरूमा अझ बृहत्तर रूपमा एक्स्पो आयोजना गर्ने योजना बनाएको जनाएको छ।
Comment