काठमाडौं । काठमाडौं जिल्लाभरका जार तथा बोतलको पिउने पानी र पानीजन्य वस्तु उत्पादक उद्योगीहरूको छाता संगठन काठमाडौं पानी उद्योग संघको प्रथम प्रारम्भिक साधारण सभा तथा उद्योगी सम्मान कार्यक्रम बुधबार प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको छ।
संघका अध्यक्ष गोकुल थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाको पहिलो चरणमा नेपाल पानी उद्योग महासंघका केन्द्रीय अध्यक्ष विक्रम लिम्बु चेमजोङ प्रमुख अतिथि रहेका थिए। विशेष अतिथिमा महासंघका वरिष्ठ उपाध्यक्ष भरत बुढाथोकी, महासचिव ध्रुव अधिकारी र उपमहासचिव रोसा श्रेष्ठको उपस्थिति थियो। उद्घाटनपछि सदस्यता प्रमाणपत्र वितरण र उद्योगी सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो।
साधारण सभाले आगामी दुई वर्षका लागि **गोकुल थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति** निर्वाचित गरेको छ। जसमा उपाध्यक्ष श्याम प्रसाईं र तेजमान श्रेष्ठ, महासचिव अमर राज लामा, सचिव दिपेन्द्र बोगटी, कोषाध्यक्ष महेश्वर श्रेष्ठ, सह–कोषाध्यक्ष बद्री प्रसाद श्रेष्ठ र सदस्यहरू विजय लामा, उपेन्द्र पोखरेल, वीर बहादुर रुम्बा तामाङ, हस्त बहादुर तामाङ, सवन श्रेष्ठ, सचितानन्द कुमाल, भगवती बुढाथोकी कार्की तथा रविन्द्र प्रजापति रहेका छन्।
कार्यक्रमको दोस्रो चरण वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। यस अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य निर्देशक शिव भण्डारी, नेपाल बोतल वाटर उद्योग संघका पूर्व अध्यक्ष धर्मानन्द श्रेष्ठ, उपभोक्ता मञ्च नेपालका महासचिव सत्रुधन प्रसाद देव, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालसहित विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको सहभागिता थियो।
कार्यक्रममा वक्ताहरूले काठमाडौंका पानी उद्योगीहरूको समस्या समाधान, उच्च गुणस्तरीय उत्पादन, वैज्ञानिक प्रविधिको प्रयोग र लगानीमैत्री वातावरण निर्माणमा जोड दिए। महासंघका अध्यक्ष चेमजोङ र महानिर्देशक दाहालले उद्योगीहरूको हकहित संरक्षण र उपभोक्तालाई सुरक्षित, स्वच्छ पिउने पानी उपलब्ध गराउन संस्थागत प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे।
संघले पानी उद्योगीहरूलाई एउटै मञ्चमा गोलबद्ध गर्दै स्वास्थ्यमा हानी नपुग्ने “स्वच्छ पिउने पानी” उत्पादन र वितरणमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ।

Comment