काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा बीवाईडीको नयाँ ह्याचब्याक कार ‘एटो १’ सार्वजनिक गरिएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले यसलाई दुई भेरियन्टमा बजारमा ल्याएको हो – स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम। चीनमा ‘Seagull’ र युरोपमा ‘Surf’ नामले परिचित यो कार नेपालमा ‘एटो १’ नाम दिइएको छ।
एटो १ को डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाटअवर र प्रिमियममा ३८.८८ किलोवाटअवरको ब्याट्री प्याक जडान गरिएको छ। कम्पनीका अनुसार, एनईडीसी प्रमाणित रेन्जअनुसार डाइनामिकको रेन्ज २३० किलोमिटर र प्रिमियमको ३०० किलोमिटर रहेको छ।
यस ह्याचब्याक कारले एसी र डीसी दुवै चार्जर सपोर्ट गर्ने सुविधा उपलब्ध गराउँछ। एटो १ को लम्बाइ ३७८० मिमि, चौडाइ १७१५ मिमि, उचाइ १५८० मिमि र ह्वीलबेस २५०० मिमि रहेको छ। आकर्षक डिजाइन, आधुनिक प्रविधि र वातावरणमैत्री विशेषता बोकेको यो कारले नेपाली विद्युतीय सवारी बजारमा नयाँ विकल्प थप्ने विश्वास लिइएको छ।





Comment