७ महिनामा भित्रिए ६ लाख ४७ हजार पर्यटक, एकतिहाइ भारतीय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन् २०२५ को जुलाई महिनामा नेपालले ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ।

अघिल्लो वर्षको तुलनामा यो संख्या ८.७ प्रतिशतले बढी हो। नेपाल पर्यटन बोर्डका अनुसार महामारीपूर्वको अवस्था सन् २०१९ को जुलाईसँग तुलना गर्दा यो ९९ प्रतिशत रिकभरी हो, जसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्र पुनः लयमा फर्किएको स्पष्ट संकेत दिएको छ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ, जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम हो।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार, यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र नेपाललाई फेरि एकपटक विश्वकै आकर्षक गन्तव्यको रूपमा स्थापित गरिरहेको संकेत गर्छ। जुलाईमा आगमन भएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट २७ हजार १ सय ५२ जना अर्थात् ३८.७ प्रतिशत थिए। त्यसपछि चीनबाट ६ हजार ८९० (९.८%), अमेरिकाबाट ६ हजार ६२६ (९.४%), बंगलादेशबाट ४ हजार ४१३ (६.३%) र बेलायतबाट ३ हजार ५४७ (५.१%) पर्यटक आएका थिए।

क्षेत्रगत हिसाबले हेर्दा दक्षिण एशियाली मुलुकहरूबाट ४८.१ प्रतिशत अर्थात् ३३ हजार ७८७ जना पर्यटक आएका छन् भने अन्य एशियाली देशहरूबाट १३ हजार ५२ (१८.६%), युरोपबाट ९ हजार २९२ (१३.२%), अमेरिकाबाट १२ हजार ७७५ (११.१%), ओसिनिया क्षेत्रबाट १ हजार ८०७ (२.६%), मध्यपूर्वबाट ८२६ (१.२%), अफ्रिकाबाट ३१८ (०.५%) र अन्य क्षेत्रबाट ३ हजार ३२९ जना (४.७%) पर्यटक नेपाल आएका छन्।

जोशीका अनुसार भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रमहरू, निजी क्षेत्रको लगानी प्रवाह र विविध पर्यटकीय उत्पादनहरूले पछिल्लो समय नेपालप्रति पर्यटकको आकर्षण बढाएको हो। यी पहलहरूले नेपालको पर्यटन क्षेत्र पुनर्जीवित हुँदै गएको पुष्टि गर्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।