काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज, डोमिनार र केटीएम ब्रान्डका दुई र तीन पांग्रे सवारीसाधनको खुद्रा मूल्य सूची सार्वजनिक गरेको छ। सरकारको खुद्रा मूल्य पारदर्शिता सम्बन्धी व्यवस्था बमोजिम कम्पनीले आयात तथा बिक्री वितरणमा रहेका मोटरसाइकल र थ्री-ह्वीलरहरूका मूल्य खुलासा गरेको हो।
सबैभन्दा सस्तो बजाज प्लेटिना १०० ईएस मोडेल रहेको छ जसको खुद्रा मूल्य रु. २ लाख १४ हजार ९०० तोकिएको छ। त्यस्तै, पल्सर सिरिजका विभिन्न मोडेलहरू रु. २ लाख ५० हजारदेखि ५ लाखसम्मको दरमा उपलब्ध छन्। पल्सर एन २५०, पल्सर १६० एनएस एफआई, र पल्सर १२५ नियन लगायतका मोडेलहरूमा आधुनिक प्रविधि र एविएस ब्रेकिङ सिस्टम जस्ता फिचर समावेश छन्।
तीन पांग्रे सवारीमध्ये म्याक्सिमा सि पेट्रोल मोडेलको मूल्य रु. ६ लाख ९९ हजार ९०० निर्धारण गरिएको छ भने आरई ४एस पेट्रोल बीएस ६ मोडेलको मूल्य रु. ६ लाख ९ हजार ९०० तोकिएको छ।
सबैभन्दा महँगो सवारीसाधनको रूपमा केटीएम–३९० एडभेन्चर मोटरसाइकलको खुद्रा मूल्य रु. ९ लाख ९९ हजार ९०० कायम गरिएको छ, जुन कम्पनीले नै बिक्री गर्दै आएको हो।
कम्पनीले उपभोक्तालाई मूल्य पारदर्शी बनाउने उद्देश्यले मूल्य सार्वजनिक गरेको जनाइएको छ। यी मूल्यहरू अधिकतम खुद्रा मूल्य हुन् र त्यसअनुसार वितरण तथा विक्री हुने बताइएको छ।
Comment