‘निर्यातमुखी उत्पादनमा जोड नदिएसम्म व्यापार घाटा घट्दैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिका लागि आयातमुखी होइन, निर्यातमुखी उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

बुधबार राष्ट्रियसभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी प्रतिवेदन’ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उत्पादन वृद्धि र निर्यात नै समृद्ध नेपालको मूल आधार हुने स्पष्ट पारे।

“चामल किनेर खानु व्यापार होइन, आफूसँग भएको चामल बेच्नु व्यापार हो,” प्रधानमन्त्री ओलीले उदाहरण दिंदै भने, “हामीले निर्यातलाई नै वास्तविक व्यापार मान्नुपर्छ। त्यसका लागि उत्पादनको मात्रा र विविधता बढाउनु अपरिहार्य छ।”

उनले कृषिलाई समृद्धिको आधार भन्दै आधुनिक, व्यावसायिक र प्रविधिमैत्री कृषि प्रणालीको आवश्यकता औंल्याए। एक कृषकले अकबरे खुर्सानीको खेतीबाट वार्षिक तीन करोड रुपैयाँसम्म आम्दानी गरेको उल्लेख गर्दै उनले भने, “अबको ध्यान ठूलो मात्राको उत्पादन, आधुनिकीकरण, व्यवसायीकरण र सूचना प्रविधिको प्रयोगमा हुनुपर्छ।”

ओलीले ‘सुपर जोन’, ‘जोन’, ‘ब्लक’ र ‘पकेट क्षेत्र’ कार्यक्रममार्फत कृषि क्षेत्रमा क्रान्ति ल्याउन सकिने बताए।

नेपालको विकासशील राष्ट्रतर्फको स्तरोन्नतिलाई ऐतिहासिक अवसरका रूपमा लिनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, “अब हामीले ‘गरिब भयौँ, सहयोग चाहियो’ भन्ने भाषा होइन, समान सार्वभौमिकताको आधारमा मित्रतापूर्ण सम्बन्धको व्यवहार गर्नुपर्छ।”

छिमेकी भारत र चीनजस्ता विशाल र बढ्दो क्रयशक्ति भएका मुलुकहरूलाई नेपाली उत्पादनको आकर्षक बजारका रूपमा प्रस्तुत गर्दै ओलीले भने, “दुई छिमेकीसँग सुमधुर सम्बन्ध बनाएर हामीले निर्यात बजारको समस्या समाधान गर्न सक्छौँ। हामीलाई आयात र निर्यात दुवैमा असहजता हुनेछैन।”

प्रधानमन्त्री ओलीको भनाइले मुलुकको अर्थतन्त्रमा आत्मनिर्भरताको बाटो पहिल्याउन उत्पादनशीलता र निर्यात वृद्धिमा प्राथमिकता दिनुपर्ने स्पष्ट संकेत दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।