काठमाडौं । नेपालमा सवारीसाधन र प्रविधिको नयाँ अध्याय सुरु हुँदैछ। आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ मा आधुनिक, वातावरणमैत्री र नवप्रविधियुक्त सवारीसाधनहरूको भव्य प्रदर्शनी गरिने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा हुने यो एक्स्पोमा ३५ नयाँ सवारी मोडल पहिलोपटक सार्वजनिक हुनेछन्, जसले नेपाली सवारी प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।
एक्स्पोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक सवारीसाधन – ट्रक, भ्यान, मिनीबस लगायत सार्वजनिक गरिनेछन्। अधिकांश मोडलहरू विद्युतीय प्रविधिमा आधारित हुने नाइमाका अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले जानकारी दिए। उनका अनुसार भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा जलनिकासी, अपांगमैत्री पूर्वाधार र पहुँच सुधारजस्ता संरचनागत सुधार भइसकेका छन्।
एक्स्पोमा ५० भन्दा बढी सवारीसाधन ब्रान्डहरूको सहभागिता रहनेछ। एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख प्रायोजक छन् भने अन्य साझेदारमा खल्ती बाइ आईएमई, माउन्टेन ड्यू, हिमालयन जाभा, पठाओ, वर्ल्डलिंक, सोल्टी होटल, फ्रन्टलाइन हस्पिटल, एनसेल र मिडिया स्पेस सोलुसन लगायत रहेका छन्।
प्रदर्शनी अवधिभर पठाओले भृकुटीमण्डप जाने यात्रुहरूलाई ३० प्रतिशत छुट दिनेछ भने फ्रन्टलाइन हस्पिटलले २४ सै घण्टा आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा तथा एम्बुलेन्स सुविधा उपलब्ध गराउनेछ। एक्स्पोलाई थप आकर्षक बनाउन नाइमाले अनलाइन भिडिओ प्रतियोगिता पनि ल्याएको छ। साउन २१ अघि सामाजिक सञ्जालमा अपलोड गरिने उत्कृष्ट भिडियो बनाउने एक जनालाई १ लाख रुपैयाँ पुरस्कार दिइनेछ भने साउन २१ देखि २५ भित्र अपलोड गरिने उत्कृष्ट १० भिडिओलाई जनही १० हजार रुपैयाँ दिइनेछ।
एक्स्पोको पहिलो दिन ‘मोबिलिटीः हिजो, आज र भोलि’ विषयमा अनिल केशरी शाहको ज्ञान सत्र दिउँसो २ देखि ५ बजेसम्म सञ्चालन हुनेछ। अन्य दिनमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयलगायतका निकायका प्रतिनिधि तथा विज्ञहरूले प्यानल छलफलमा भाग लिनेछन्।
नाइमाकी अध्यक्ष रितु सिंह वैद्यका अनुसार, टिकट बिक्रीबाट संकलित रकमको पाँच प्रतिशत छात्रवृत्ति तथा फेलोशिप कार्यक्रममा खर्च गरिनेछ। यो कार्यक्रम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) सँगको सहकार्यमा सञ्चालन हुनेछ। उनले एक्स्पोलाई नेपालकै सबैभन्दा ठूलो र प्रभावशाली अटोमोबाइल प्रदर्शनी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
प्रदर्शनीको टिकट खल्ती बाइ आईएमई एपमार्फत खरिद गर्न सकिनेछ। नयाँ मोडल, प्रविधि र अवधारणाको अनुभव गर्न चाहने सर्वसाधारणका लागि यो एक्स्पो एउटा अवलोकनीय अवसर बन्नेछ। आयोजक संस्थाका अनुसार, करिब ८० हजार दर्शकले प्रदर्शनीमा सहभागिता जनाउने अनुमान गरिएको छ।
Comment