काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्धै आयोगमै गम्भीर आरोपसहित उजुरी परेको छ। आइतबार भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै आएका युवराज पौडेल ‘सफल’ले आयोगमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा राईलाई वाइडबडी जहाज खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद घोटाला र नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न देखिएको दाबी गरिएको छ। ती सबै प्रकरणमा राईको भूमिकाबारे गम्भीर प्रश्न उठाउँदै उनीविरुद्ध निष्पक्ष अनुसन्धान र कारबाहीको माग गरिएको हो।
पौडेलको उजुरीमा विशेष अदालतको मिति २०८१ मंसिर २० गतेको मुद्दा नं. ०८० सीआर ०१४५ को फैसलालाई आधार बनाइएको छ। सो फैसलामा आरोपित प्रेमकुमार राईमाथि अभियोग नचलाइएकामा विशेष अदालतले स्पष्ट आपत्ति जनाएको उल्लेख छ। अदालतले एउटै कार्यमा संलग्न एकजनालाई मात्र अभियोजन गर्नु समान न्यायको सिद्धान्तविपरीत हुने टिप्पणी गरेपछि राईमाथि पनि कानुनी प्रक्रिया अघि बढाइनुपर्ने माग गरिएको छ।
त्यस्तै, उजुरीमा राई आपूर्ति सचिवको जिम्मेवारीमा रहेका बेला नेपाल आयल निगमले चितवन, भैरहवा, झापा, सर्लाहीलगायतका जिल्लामा करिब डेढ अर्ब रुपैयाँ बराबरको जग्गा खरिद गरेको प्रसंगसमेत उल्लेख छ। सो समयमा राई निगमको सञ्चालक समितिका अध्यक्ष थिए। पौडेलको आरोप छ कि उक्त खरिद प्रक्रियामा अनियमितता देखिएपछि कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि मात्रै मुद्दा चलाइयो, तर निर्णय प्रक्रियामा नेतृत्व गर्ने राई भने जोगिएका छन्।
पौडेलले राईको संलग्नतामा देखिएको उक्त प्रकरणको मुद्दा कोरोना महामारीको बहानामा हतारमा तामेलीमा राखिएको दाबीसमेत गरेका छन्। साथै, नक्कली भुटानी शरणार्थी काण्ड र वाइडबडी खरिदमा उनको भूमिकाबारे सार्वजनिक तहमा उठेका प्रश्नहरूलाई पनि उजुरीमा समावेश गरिएको छ। यस्तो अवस्थामा अख्तियारको प्रमुख पदमा राईजस्तो व्यक्ति बस्नु न्याय र सुशासनका दृष्टिले घातक हुने पौडेलको तर्क छ। उजुरीमा अदालतले अभियोग चल्नुपर्ने स्पष्ट संकेत दिइसकेको उल्लेख गर्दै राईले राजीनामा दिएर छानबिनमा सहकार्य गर्नु उपयुक्त हुने भनिएको छ। पौडेलले अख्तियार प्रमुख राईलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
Comment