रिलायबल नेपाल लाइफले पायो ‘ए माइनस’ रेटिङ, वित्तीय सशक्ततामा नयाँ माइलस्टोन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको इस्युअर रेटिङमा उल्लेखनीय सुधार भएको छ।

केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङ ‘केयर–एनपी ट्रिपल बी प्लस (आईएस)’ बाट सुधार गर्दै ‘केयर–एनपी ए माइनस (आईएस)’ मा पुर्‍याएको हो। यो रेटिङ प्राप्त कम्पनीहरूलाई वित्तीय दायित्व समयमै पूरा गर्ने मामिलामा पर्याप्त सुरक्षित मानिन्छ। रेटिङ्स कम्पनीका अनुसार यो सुधारको प्रमुख कारण कम्पनीको सुदृढ सॉल्भेन्सी प्रोफाइल, वित्तीय वर्ष २०८०/८१ मा सुधारिएको सॉल्भेन्सी अनुपात, बीमा प्रिमियम संकलनमा आएको वृद्धि, आम्दानी र नाफामा देखिएको सुधार, र दक्ष व्यवस्थापन टोली रहेको हो।

बीमा प्राधिकरणको जोखिम आधारित पूँजी तथा सॉल्भेन्सी निर्देशनअनुसार, कम्पनीले ८,५९४ मिलियन उपलब्ध पूँजी स्रोत कायम गरेको छ भने जोखिम पूँजी आवश्यकता २,३८० मिलियन रहेको छ। यस अनुसार, कम्पनीको सॉल्भेन्सी अनुपात ३.६१ गुणा पुगेको छ, जुन नियामक निकायको १.३० गुणाको न्यूनतम मापदण्डभन्दा धेरै माथि हो। अघिल्लो वर्ष यो अनुपात १.५८ गुणा मात्रै थियो। कम्पनीको सम्पत्ति र आम्दानीमा भएको वृद्धिले यसमा सकारात्मक प्रभाव पारेको हो।

सन् २०२४ मा कम्पनीले ४,२११ मिलियन रुपैयाँ ग्रस अर्न्ड प्रिमियम संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशतले वृद्धि भएको हो। सोही अवधिमा नेट प्रिमियम आम्दानी ३,८१८ मिलियन पुगेको छ भने नेट अन्डरराइटिङ आम्दानी १,४९९ मिलियन रहेको छ। कम्पनीको ९ महिनाको प्रदर्शन हेर्दा कुल प्रिमियम आम्दानी करिब २४ प्रतिशतले बढेर ३,६९१ मिलियन पुगेको छ र नेट प्रिमियम आम्दानी २७ प्रतिशतले बढेर ३,४७९ मिलियन पुगेको छ। अन्डरराइटिङ नाफा ४३ प्रतिशतले बढ्दै १,६८१ मिलियन पुगेको छ भने नेट प्राफिट ४६६ मिलियन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि हो।

कम्पनीको लगानी पोर्टफोलियो पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। सन् २०२४ मा कम्पनीको कुल लगानी १६,२२८ मिलियन पुगेको छ, जसमा करिब ७२ प्रतिशत सावधि निक्षेपमा रहेको छ। यसले कम्पनीलाई उच्च तरलता सुरक्षा प्रदान गरेको छ। सोही वर्षमा कम्पनीको लगानी आम्दानी १,३९३ मिलियन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले देशभर व्यवसाय विस्तार गर्न शाखा र उपशाखा सञ्जाल मजबुत बनाएको छ। हाल कम्पनीसँग ९ वटा शाखा, ८५ उपशाखा, र ३० हजार ५५४ बीमा अभिकर्ता रहेका छन्। कम्पनीको सञ्चालक समिति अध्यक्ष उदय नेपाली श्रेष्ठको नेतृत्वमा सञ्चालन भइरहेको छ भने दैनिक सञ्चालन प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीको नेतृत्वमा हुँदै आएको छ। बीमा व्यवसायमा दिगो वृद्धि, स्थिर लगानी नीति, कम ल्याप्स अनुपात, कम खर्च, र सशक्त व्यवस्थापनको कारण रिलायबल नेपाल लाइफले आगामी दिनमा अझ सशक्त वित्तीय हैसियत बनाउन सक्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।