काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। राष्ट्र बैंकमा पेश गरिएको विवरणअनुसार उनले सेयर बजारमै १४ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन्।
सार्वजनिक विवरणअनुसार गभर्नर पौडेलले सानिमा बैंकमा मात्रै २ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर राखेका छन्। त्यसैगरी सानिमा मिडल तमोर हाइड्रोमा १ करोड ८८ लाख, संयुक्त ऊर्जा हाइड्रोपावरमा ५ करोड, चितवन इनर्जी लिमिटेडमा २ करोड ५० लाख र सानिमा माई हाइड्रोमा ९२ लाख रुपैयाँको सेयर लगानी गरेका छन्।
उनकी पत्नी प्रतिभा शर्माको नाममा ग्लोबेको प्रालिमा ३७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर रहेको विवरणमा उल्लेख छ।
गभर्नर पौडेलका नाममा सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सानिमाको डलर खातासहित गरी १३ लाख २३ हजार, २ लाख ५९ हजार र ६६ डलर मौज्दात रहेको छ। पत्नी शर्माको नाममा सानिमा र प्रभु बैंकका खातामा जम्मा करिब ५ लाख रुपैयाँजति मौज्दात रहेको उल्लेख गरिएको छ।
त्यसैगरी उनले ४५ तोला सुन र करिब १५ लाख रुपैयाँ बराबरको हीरा रहेको समेत उल्लेख गरेका छन्। श्रीमतीको नाममा काठमाडौं र चितवनमा घरजग्गा रहेको पनि विवरणमा खुलाइएको छ।
सम्पत्ति विवरणमा गभर्नर पौडेलले आफ्ना सम्पत्तिहरू स्वआर्जन तथा पैतृक स्रोतबाट आर्जन भएको उल्लेख गरेका छन्।
यसरी सार्वजनिक भएको सम्पत्ति विवरणले गभर्नरको लगानी प्राथमिकता मुख्यतः सेयर र जलविद्युत क्षेत्रमा केन्द्रित देखिन्छ।
Comment