काठमाडौँ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो सङ्ख्या सो अवधिका लागि तोकिएको लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार यस अवधिमा १४ अर्ब १४ करोड ४२ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेको थियो।
गत आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा भने मेची भन्सारले आफ्नो लक्ष्यको मात्र ७६ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सकेको थियो। “यसपटक लक्ष्यअनुसारको राजस्व सङ्कलन हुनु सकारात्मक उपलब्धि हो,” हुमागाईले बताए।
कार्यालयको तथ्याङ्कअनुसार राजस्वमा सबैभन्दा ठूलो योगदान पेट्रोलियम पदार्थको आयातबाट आएको छ, जसबाट ७ अर्ब ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ (कुल राजस्वको ६०.५५%) सङ्कलन भएको छ। यस्तै, तरकारीको आयातबाट ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट २४ करोड १० लाख ३० हजार, कफीबाट १९ करोड ३६ लाख ९० हजार, र दलहनबाट २० करोड २९ लाख ९४ हजार रुपैयाँ राजस्व उठाइएको छ।
यो अवधिमा मेची भन्सार नाकाबाट २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ, जसबाट १९ करोड ८९ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यसैगरी, ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार रुपैयाँ बराबरको वस्तु आयात हुँदा १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।
मेची भन्सारको राजस्व सङ्कलनमा देखिएको सुधारले समग्र भन्सार प्रशासनको कार्यसम्पादनमा सशक्तीकरण देखिएको संकेत गर्छ भने राजस्व प्रशासनको प्रभावकारितामा पनि सुधार आएको छ।
Comment