काठमाडौँ । सप्तकोशी नदीको जलसतहले खतराको तह पार गरेको छ। सप्तकोशीमा पानीको सतहले खतराको तह पार गरेपछि अहिले कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्। यसअघि २०७६ असार २९ गते कोशी ब्यारेजका सबै ढोका खोलिएको थियो ।
नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ४ लाख १९ हजार क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको बताइएको छ ।
पहाडी क्षेत्रमा शुक्रबारदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा निरन्तर जलसतह बढिरहेको छ। जलसतह उच्च भएपछि रातिदेखि खतराको संकेत रातो बत्ति बालिएको केन्द्रले जनाएको छ।
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।
सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो। सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो। कोशी ब्यारेज बन्दा सुरुवातका वर्षमा कोशी नदीले झन्डै आठ लाख क्युसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घट्दै गएको पाइन्छ। पछिल्लो समय कोशी ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ।
२०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यति वेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानवबस्तीमा पसेको थियो। त्यति वेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा सात हजार पाँच सय ६३ परिवार विस्थापित भएका थिए।
Comment