कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्।

नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन्।  मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे बैठक बाेलाइएको कोशी प्रदेशसभाका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए। 

नेकपा माओवादी केन्द्रको समर्थनमा वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। माओवादी केन्द्रले भदौ १४ गते विश्वासको मत फिर्ता लिएपछि कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन्।

सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते कोशी सरकारबाट बाहिरिएको माओवादी केन्द्रले भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। सरकारमा सहभागी दलले विश्वासको मत फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

बुधबार विश्वासको मत लिन लागेका कार्कीले सहजै विश्वासको मत पाउने देखिएको छ। ९३ सदस्यीय कोशी प्रदेश सभामा विश्वासको मतका लागि ४७ जना सांसद आवश्यक पर्दछ।

कोशीमा सत्तारुढ दलहरू नेकपा एमालेका ४० र कांग्रेसका २९ सांसद छन्। सत्ता पक्षमा ६९ जना सांसद भएकाले मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत पाउने देखिएको छ।

कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।