काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य सुरेशकुमार आले मगरले काँग्रेस-एमाले गठबन्धन लामो समयसम्म रहनेमा आशंका व्यक्त गरेका छन्।
सरकारमै रहेका मन्त्रीहरूले एमालेसँगको गठबन्धन खुकुरीको धारमा हिँडेजस्तै भएको भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै धेरै समय वर्तमान गठबन्धन टिक्न नसक्ने दाबी गरे। मंगलवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यति वेला बनेको गठबन्धनको दीर्घायुको कामना माओवादीले गर्ने बताए।
उनले माओवादी केन्द्र सत्ताबाट बाहिरिनुपर्दा बिलौना नगरेको बताए। उनले गठबन्धन फेरिने र सरकार बदलिने कुरा नौलो कुरा नरहेको बताए।
आलेले भने‚ ‘यति वेला नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन छ। यो सरकार बन्दैमा हामीलाई चिन्ता छैन। हामी रोई कराई गरेका छैनौँ। बिलौना गरेका छैनौँ। यो अगाडि बढोस्। हामी पनि यो सरकारको दीर्घायुकै कामना गरौँला।’
उनले वर्तमान गठबन्धन केका लागि बनेको भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग भएको बताए।
Comment