प्रधानमन्त्रीलाई खुल्ला पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सम्माननीय प्रधानमन्त्री ज्यू,

कुशल स्वास्थ्य लाभको कामना।

सबैभन्दा पहिले, तपाईँलाई पुनः नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईंको नयाँ कार्यकालले देशलाई सही दिशामा अघि बढाउने विश्वास लिएका छौं।

देशको वर्तमान आर्थिक अवस्था, युवाहरुको विदेश पलायन, र सामाजिक संरचनामा देखिएको संक्रमणले मलाई गहिरो चिन्तित बनाएको छ। म, एउटा सामान्य इन्जिनियर, जसले आफ्नो सीप र श्रम यही देशमै लगानी गर्न चाहन्छ, यस पत्र मार्फत केही विचारहरु र पीडाहरु व्यक्त गर्न चाहन्छु।

मेरो सपना ठुलो छैन, मात्र यो देशमा सम्मानजनक जीवनयापन गर्न सकूँ भन्ने चाहना छ। तर, आजको परिस्थिति हेर्दा, युवा पुस्ताले नेपालमै आफ्नो भविष्य देख्न सकिरहेको छैन, स्कुलदेखि नै ठूला सपना बोकेका विद्यार्थीहरु नेपालको सीमाभित्र आफ्नो भविष्य देख्न छोडिसकेका छन्। उनीहरुका लागि “विदेश जानु” नै सफलताको परिभाषा बन्न थालेको छ। यो अवस्था देख्दा, म जस्ता यहाँ रहन चाहने, यहाँ केही गर्न चाहने युवाहरुको मन भक्कानिन्छ। देशको निर्माण र प्रगतिको जिम्मेवारी लिने उमेरका युवाहरु विदेशको सपना देख्न बाध्य छन्।

देशभित्रै रोजगारी सिर्जना हुन नसक्दा, चाहे काम भएका मानिस हुन् या बेरोजगार, सबैलाई विदेश नै आकर्षित गरिरहेको छ। यो केवल आर्थिक समस्याको कारण मात्र होइन, यहाँको वातावरण र मानसिकताको परिणाम हो। समाजको तल्लो तहदेखि माथिल्लो तहसम्म सबैले यो देशमा केही हुन्न भन्ने नकारात्मक धारणा बनाएर बसेका छन्। राजनीतिक नेतृत्व, जनप्रतिनिधिहरू, समाजका अगुवाहरू, शिक्षक, अनि परिवारसमेत यो धारणामा पुगेका छन् कि नेपालमा अब केही सम्भावना बाँकी छैन।

शिक्षा क्षेत्र पनि दिनानुदिन कमजोर हुँदै गएको छ। भविष्यमा बौद्धिक व्यक्तिहरूको अभाव हुने स्थितिमा पुगेको छ। डाक्टर, इन्जिनियर, नर्स जस्ता जनशक्तिको अभाव भविष्यमा ठूलो चुनौती हुने निश्चित छ। समाजमा यहाँ बस्ने मान्छेको इज्जत घट्दै गइरहेको छ, मानौं उनीहरूलाई नेपालमा कुनै महत्व छैन। तपाईंलाई यी समस्याहरू अवगत नै होला भन्ने मलाइ  विश्वास छ। तर, यिनै समस्याहरूको बीचमा पनि ठूलो सम्भावना छ। हामी जस्ता केही युवा अझै पनि यही देशमा केही गर्न र देशको मुहार फेर्नका लागि आफ्नो जीवन समर्पण गर्न तयार छौं। र हामि समस्या बाट भागेको छैनौ, विदेश पलाएन भएका छैनौ ।

प्रधानमन्त्रीज्यू, हाम्रा युवाहरु यहाँ रहनुपर्छ, काम गर्नुपर्छ, र यो देशलाई अघि बढाउनुपर्छ। यदि हामीले यसरी विदेश जाने क्रमलाई रोक्न सकेनौं भने, भविष्यमा देशलाई अघि बढाउने कोही रहने छैन। तपाईंको नेतृत्वमा, देशले आशा गर्न चाहन्छ कि अब केही ठोस कामहरू हुनेछन् जसले गर्दा युवाहरू आफ्नो भविष्य यहीं देख्न सकून्। काम भएको मान्छे पनि र बेरोजगार पनि, सबै विदेश जानको लागि लालायित छन्। किनभने यहाँ काम गर्दा पनि तिनले भविष्यको सुनिश्चितता देख्दैनन्। देशभित्रै रोजगारीको अवसरहरु सिर्जना गर्न सरकारको ध्यान केन्द्रित हुन जरुरी छ।

देशको आर्थिक स्थिति सुधार गर्न, सरकारको नेतृत्वले रणनीतिक योजनाहरु ल्याउन आवश्यक छ। रोजगारी सिर्जना गर्ने, लगानी आकर्षित गर्ने, र आर्थिक विकासलाई तेज गर्नेतर्फ ध्यान दिनु अत्यावश्यक छ। हाम्रो स्रोत र साधनको सही प्रयोग गर्दै, उद्योगधन्दा, कृषि, र प्रविधिमा युवाहरुलाई आकर्षित गर्न सकिन्छ।

तपाईंको नेतृत्वमा देशमा बस्न चाहने, काम गर्न चाहने युवाहरुको लागि सुरक्षित वातावरण तयार होस्। कमसेकम गरेको  लगानी सुरक्षित होस्, र हामीले यहाँ गरेको परिश्रमको उचित सम्मान होस्, यति भएमा बिदेशिएका युवा पनि आउन तयार छन् ।   देशका सबै युवा तपाईँकै छोरा-छोरी हुन्। कृपया, सबै क्षेत्रका युवाहरुलाई बोलाउनुहोस्, सम्बोधन गर्नुहोस्, र उनीहरुलाई यहीँ रोक्न प्रोत्साहित गर्नुहोस्। उनीहरुका लागि रोजगारीका अवसरहरू सिर्जना गर्नुहोस्। हामीले तपाईँबाट ठूला सपना र ठूला कुरा खोजेका छैनौं। हामीलाई केवल यही देशमै रहन र काम गर्न सकिने वातावरण चाहिएको हो।

म एउटा इन्जिनियर भएको नाताले, यहाँ बस्न चाहन्छु, मेरो सीप र ज्ञानलाई देशको विकासमा लगाउन चाहन्छु। तर, यदी यहीँ काम गर्ने वातावरण नहुने हो भने, मेरो चाहना पनि केवल चाहनामा नै सीमित हुनेछ। तपाईंको नेतृत्वमा हामीले यो विश्वास गर्न पाउनु पर्छ कि नेपालमै केही गर्न सम्भव छ। देशमा सकारात्मकता, आशा, र उत्साहको भावना फैलाउन जरुरी छ।

यदि तपाईंले आफ्नो कार्यकालमा यो मात्र गर्नुभयो भने, इतिहासले सधैँ तपाईँलाई सम्मान गर्नेछ। युवाहरुलाई यही देशमा बस्न प्रेरित गर्नुहोस्, देशको आर्थिक समृद्धिको आधार तयार गर्नुहोस्, र सबैले यहाँको भविष्यमा विश्वास गर्न सकून्। हामीलाई आशा छ, तपाईंको नेतृत्वमा नेपालले एक नयाँ युगको सुरुवात गर्नेछ, जहाँ युवाहरूले आफ्नो भविष्य यहीँ देख्नेछन् र देशलाई समृद्धिको बाटोमा अघि बढाउनेछन्।

तपाईँको हातमा रहेको यो अवसरले, तपाईंको नेतृत्वले देशको आर्थिक समृद्धि, युवाहरुको आत्मविश्वास, र राष्ट्रिय गर्वलाई फेरि जिवन्त बनाओस्। तपाईको उत्तरदायित्व हामी सबैका लागि आशाको किरण होस्।

आदरपूर्वक,

इ.मनोज आचार्य ।

थाक्रे ०९ धादिंग

यो पनि….

ब्रह्माण्डीय ऊर्जाबाट कसरी फाइदा लिने ?

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।