काठमाडौं । बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेको बीबीसी बाङ्ग्लाले जनाएको छ। हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। उनीहरूले हसिनाको राजीनामा माग्दै आएका थिए।
सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट सोमबार राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो। सेनाप्रमुखले विभिन्न नेताहरूसँग छलफल गरेका थिए।
स्रोतहरूका अनुसार हसिना र उनकी बहिनी शेख रेहना बङ्गभवनबाट हेलिकप्टर चढेर देशबाट बाहिर गएका हुन्। हसिनाले देशवासीका नाममा सम्बोधन गर्ने चाहना व्यक्त गरेको भए पनि त्यो सफल हुन नसकेको बुझिएको छ। बीबीसी बाङ्ग्लाका अनुसार ढाकाका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो।
बाङ्ग्लाभाषाको पत्रिका ‘प्रोथोम आलो’को अनलाइन संस्करणका अनुसार प्रदर्शनकारीहरू मध्यढाकाको शाहबागतिर जान लाग्दा प्रहरीले ‘साउन्ड ग्रिनेड’ र अश्रुग्यास प्रहार गरेको थियो। ढाका ट्रिब्यून र प्रोथोम आलोका अनुसार जात्राबारीमा भएको भिडन्तमा केही मानिसको मृत्यु पनि भएको छ।
सडकमा सेना पनि
जुलुस हिंसक बन्न सक्ने आशङ्का गर्दै सरकारले ढाकामा सुरक्षाव्यवस्था कडा पारेको छ।सेनाप्रमुख वकार-उज-जमानले स्थानीय समयानुसार अपराह्ण २ बजे सम्बोधन गर्न लागेका बताइएको थियो। ढाका विश्वविद्यालय, बंगलादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको छ।
ढाकामा प्रहरीले गस्ती बढाएको छ भने काँडेतार राखेर विभिन्न सडकमा आवतजावत रोकेको छ। अधिकांश सडकहरू खाली देखिन्छन्। प्रदर्शनकारी र प्रहरीबीच आइतबार ठाउँठाउँमा भिडन्त भएको थियो। अनिश्चितकालीन कर्फ्यू लागेको भए पनि सोमबार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था देखिन्छ।
नागरिक अवज्ञामा सहभागी हुन भन्दै दशौँ हजार प्रदर्शनकारीहरू शाहबाग क्षेत्रबाट जुलुस निकाल्ने तयारीमा थिए। त्यसलाई ‘ढाकासम्मको लामो मार्च’ भनिएको छ। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका थिए।
‘कर्फ्यू तोडेर मेरा धेरै साथीहरू र विभिन्न क्षेत्रका मानिसहरू विरोधप्रदर्शनमा सहभागी हुन आउँदै छन्। मानिसहरू ढाकाबाहिरबाट आउँदै छन्। बाहिरबाट आएका प्रदर्शनकारीहरूलाई मानिसहरूले आश्रय दिएका छन्। यो तल्लो तहदेखि भएको आन्दोलन हो,’ आन्दोलनकारी विद्यार्थी समूहसँग आबद्ध सायेम फारुकले बीबीसी संवाददाता सौतिक बिस्वासलाई ढाकाबाट फोनमा भने।
फारुकका अनुसार मानिसहरू २० किलोमिटर लामो बाटो हिँडेर ढाका विश्वविद्यालय जान लागेका थिए। ‘सबै कुरा बन्द छ। असहयोग आन्दोलन चलेको छ। विद्यालय, कार्यालय र अदालतहरू बन्द छन्,’ उनले भने।
इन्टरनेट चल्न थाल्यो
सोमबार बंगलादेशभरि इन्टरनेट पूरै बन्द गर्ने आदेश अधिकारीहरूले दिएको विवरण आएको थियो। प्रदर्शनकारीहरूबीच सञ्चार र समन्वय गर्न असहज होस् भनेर त्यसो गरिएको ठानिएको छ।
तर दिउँसो इन्टरनेट फेरि चल्न थाल्यो।बंगलादेशको कुल जनसङ्ख्या १७ करोडमध्ये अधिकांश मानिसले इन्टरनेट चलाउँछन्। राजधानी ढाकामा आइतबार मोबाइल इन्टरनेट बन्द गरिएको थियो। बंगलादेशको दूरसञ्चार नियामक निकायका अधिकारीले फोरजी इन्टरनेट बन्द गरिएको बीबीसी बाङ्ग्लासँग बताए थिए।
फेसबुक र ह्वाट्स्यापजस्ता सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको विवरण सार्वजनिक भएको थियो।
सोमबार बिहान बंगलादेशमा धेरै पढिने ‘द ढाका ट्रिब्यून’ र ‘बाङ्ग्ला ट्रिब्यून’का वेबसाइटहरू बन्द भएका थिए। अर्को लोकप्रिय समाचार वेबसाइट ‘डेली स्टार बाङ्ग्ला’ पनि खुलेको थिएन। तर दिउँसोदेखि ती वेबसाइट फेरि खुले।
आइतबारको प्रदर्शनका क्रममा झन्डै २०० जना घाइते भएको विवरण आएका छन्।राजधानी ढाकाको मुख्य चोकमा हजारौँ मानिसहरू भेला भएका थिए। सहरका अन्य भागमा पनि हिंसात्मक घटनाहरू भएको विवरण आएका छन्।
सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका थिए।
केही साताअघि ‘कोटा प्रणाली’ खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको मागसहित आन्दोलित भएका हुन्।
बंगलादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ।उक्त सङ्ख्या प्रहरी, सरकारी अधिकारी र अस्पतालमा कार्यरत चिकित्सकहरूबाट सङ्कलित विवरणमा आधारित छ।एएफएपीका अनुसार आइतबार एकैदिन ९४ जनाको ज्यान गएको थियो।
प्रधानमन्त्रीले के भनिन्
प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाले प्रदर्शनकारी विद्यार्थीहरूलाई ‘आतङ्कवादी’को सङ्ज्ञा दिएकी थिइन्। उनले आफ्नो इलाकामा प्रदर्शन हुन नदिन देशवासीहरूलाई आह्वान गरेको बीबीसी बाङ्ग्लाले जनाएको थियो।
विद्यार्थीहरूको प्रदर्शन नियन्त्रण गर्ने उद्देश्यले विगत केही सातामा झन्डै विपक्षी दलका १० हजार समर्थक र विद्यार्थीहरूलाई पक्राउ गरिएको थियो। आइतबारबाट सुरु भएको अवज्ञा आन्दोलनका क्रममा विद्यार्थीहरूले सार्वजनिक सवारी र कलकारखानाहरू बन्दको आह्वान गरेका थिए।
प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगले पनि आइतबार नै देशैभरि र्यालीको आयोजना गरेको थियो। –बीबीसी
Comment