आज नेकपा बैठक बस्दै,जुट्ला त सहमति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ ।
विगतमा स्थगित हुँदै आएको बैठक आज भने स्थगित नगर्ने पक्षमा सरकार ढाल्ने पक्षधरहरु देखिएका छन् ।

स्थायी समितिको बैठकमा टेकेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने प्रयास हुँदै आएको छ । प्रधानमन्त्री ओलीले भारतको विरोध गरेको अभियोगमा पदबाट हटाउने प्रयास गरिँदै आएको छ ।

स्थायी समितिलाई पूर्व निर्धारित एजेण्डाबाट हटाएर प्रधानमन्त्री हटाउने खेलमा केन्द्रीत गराइए पछि बैठक बस्न सकिरहेको छैन ।

नेकपाको स्थायी समिति मुलुकमा राजनीतिक अस्थिरता फैलाउने केन्द्रका रुपमा यो एक महिनामा चित्रित हुँदै आएको छ । त्यसैले केन्द्रीय समिति बैठकको पनि माग उठिरहेको छ । त्यसैगरी आगामी चैतमा हुने महाधिवेशनलाई अगाडि नै सार्ने माग पनि उठिरहेको छ ।

आजको बैठक पनि स्थगित हुने विचार कतिपय नेताहरुले गरिरहेका छन् तर पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरुका अनुसार बैठक स्थगित हुने सम्भावना क्षीण छ ।

स्थायी समितिमा यस्तो बन्दै छ समीकरण

स्थायी समितिमा प्रधानमन्त्रीको कार्यशैलीप्रति आलोचना गरिए पनि राजीनामाकै विषयमा भने बहुमत पुग्ने/नपुग्नेमा अझ अन्योल छ। ओली पक्ष एक्लिँदा र दाहाल–नेपाल पक्ष मिल्दा बहुमत दाहाल र नेपाल पक्षसँग देखिने सामान्य अनुमान हो। तर, प्रधानमन्त्रीको राजीनामाकै विषयमा स्थायी समितिभित्रै दाहाल– नेपाल पक्षले बहुमत पुरयाउन सक्नेमा भने आशंका छ।

४४ स्थायी समिति सदस्यमध्ये २३ नेता एकातिर उभिँदा मात्र पार्टीभित्र बहुमतको अवस्था रहन्छ। तर, प्रधानमन्त्रीको राजीनामाका लागि त्यो संख्या पु¥याउन दाहाल–नेपाल समूहलाई केही समययता भएका गतिविधिले मुस्किल पर्ने देखिन्छ। नेकपाको सचिवालय ९ सदस्य र थप ३५ नेतासहित ४४ सदस्यीय स्थायी समिति छ।

सचिवालयमा प्रधानमन्त्रीसँग उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल साथमा छन्। इतर समूहमा दाहाल, खनाल, नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुलेको देखिन्छ। तर, उपाध्यक्ष गौतम र गृहमन्त्रीसमेत रहेका थापा भने तटस्थजस्तै देखिएका छन्। थापा बोलेका छैनन् भने गौतमले १६ असारमा राजीनामा मागे पनि त्यसपछि उक्त अडानबाट पछि हटेका छन्। गौतम अहिले नै राजीनामाको विषय उचालेर जाने पक्षमा देखिएका छैनन्। गौतमलाई फकाउन ओलीले निकट नेतालाई दिनहुँ भैंसेपाटी पठाइरहेका छन्।

यसले सचिवालयमा सम्भवतः पाँच नेताले ओलीको राजीनामा माग नगर्ने देखिएको छ। दुवै पदबाट राजीनामा माग गरेका अन्य चार नेता पनि ओलीले रोजेर एक पदबाट राजीनामा दिनुपर्ने गरी प्रस्तुत हुन थालिसकेका छन्।

स्थायी समिति सदस्यहरूमा किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवास नेम्बाङ गरी नौ जना ओली पक्षका छन्। पूर्वमाओवादी धारका स्थायी समिति सदस्य लेखराज भट्ट ओलीसँग नजिक छन्। मन्त्री रहेका अन्य पाँच स्थायी समिति सदस्य शक्ति बस्नेत, वर्षमान पुन, घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराईले पनि राजीनामाको माग उठाउने देखिन्न। तीन दिनयता प्रधानमन्त्रीले भुसाल, पुन र भट्टराईलगायत मन्त्रीलाई बोलाएर छलफल गरेका छन्।

त्यसैगरी पूर्वमाओवादी धारका नेता जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापा र हरिबोल गजुरेलजस्ता नेताले पनि राजीनामा माग गर्न नसक्ने गरी ओलीले भेटघाट र छलफल तीव्र बनाएका छन्। रायमाझी र थापाले स्थायी समितिबाट अब प्रधानमन्त्रीको राजीनामाको विषय सकिइसकेको बोलिसकेका छन्। शर्मा दुई अध्यक्ष मिलाउन महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेलसँगको बाक्लो छलफलमा छन्। पौडेल र गजुरेलले पनि ओली र दाहाल मिल्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने धारणा व्यक्त गरिरहेका छन्।

दाहाल र नेपाल समूहमा रहेका मन्त्रीहरू दुवैतिर पुग्ने गरेका त छन् तर सकभर सहमतिमै विवाद मिलाउन दबाब बढाइरहेका छन्। पार्टीभित्र अल्पमत/बहुमत नगर्न उनीहरूले धारणा राखिरहेका छन्। यसो गर्दा सचिवालयबाहेककै स्थायी समितिमा रहेका ३५ मा २० नेताले प्रधानमन्त्रीको राजीनामाको विषय उठान नगर्ने समीकरण नेकपाभित्र देखापरिरहेको छ। सचिवालयका ५ समेतलाई जोड्दा २५ नेता राजीनामामा सिधै माग गरेर नआउने बुझाइमा बालुवाटार देखिन्छ।

यसो हुँदा दाहाल र नेपाल समूहमा जम्माजम्मी १९ नेता (सचिवालयका ४ र स्थायी समितिका १५ गरी) प्रधानमन्त्रीको राजीनामाको विषय उठान गर्ने नेतामा गनिन्छन्। त्यसभित्र पनि कतिपय नेता दुई अध्यक्ष मिलेरै जानुपर्ने पक्षमा छन्। यसले प्रधानमन्त्रीको राजीनामाको विषय सेलाउने सम्भावना बढी देखिएको एक नेताले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।