काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत हुँदैमा सरकारले गर्ने हरेक निर्णय सही नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत सिंहले यस्तो बताएका हुन्। राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाएको सन्दर्भमा उनले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने बताए।
राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उल्लेख गरेका छन्।
‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन। लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ उनले भनेका छन्, ‘राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्वपूर्ण अभ्यास हो।’
उनले लोकतन्त्रमा बहुमतको शासन भए पनि बहुमतलाई जवाफदेही बनाउने व्यवस्था पनि आवश्यक रहेको जिकिर गरे।
उनले संसदीय समितिको भूमिकालाई लोकतन्त्रको सुन्दरता र संसदीय गरिमासँग जोड्दै सरकारका निर्णयमाथि निगरानी राख्नु लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण पक्ष भएको बताएका छन्।
‘लोकतन्त्रमा बहुमतको शासन हुन्छ, तर बहुमतलाई पनि जवाफदेही बनाउने व्यवस्था हुन्छ। यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा!’ उनले भने।




Comment