विभिन्न आरोपपछि मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । संसदीय सुनुवाइ समितिले मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको सुनुवाइ प्रक्रिया स्थगित गरेको छ। उनीमाथि म्यानपावर व्यवसायीसँगको सम्बन्ध र पोखरामा जग्गा खरिद गर्दा अनियमितता गरेकोलगायतका विषयमा प्रश्न उठेपछि समितिले सुनुवाइ रोकेको हो।

बुधबारका लागि तय गरिएको सुनुवाइका क्रममा समिति सदस्यहरूले खरेलसँग सम्बन्धित विभिन्न उजुरी र आरोपबारे थप अध्ययन गर्नुपर्ने धारणा राखेका थिए। त्यसपछि समितिका सभापति बोधनारायण श्रेष्ठले तत्कालका लागि सुनुवाइ स्थगित गर्ने निर्णय सुनाएका हुन्।

बैठकमा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद राजीव खत्रीले राजदूत नियुक्तिको प्रस्ताव, स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन तथा स्थानीय तहबाट अनुदान मिलाइदिने भन्दै रकम लिएको विषय उठाएका थिए।

उनले उठाएका प्रश्नबारे स्पष्ट पार्न सभापति श्रेष्ठले प्रस्तावित राजदूत खरेललाई जवाफ दिने अवसर दिएका थिए। जवाफमा खरेलले सार्वजनिक भएका आरोपमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै अर्का सांसद मधुकुमार चौलागाईंले खरेलसँग सम्बन्धित विषयमा थप अध्ययन गर्नुपर्ने र आवश्यक परे उपसमिति गठन गर्नुपर्ने धारणा राखेका थिए।

समितिका सदस्यहरूले प्राप्त उजुरीहरूको अध्ययन गर्न समय आवश्यक रहेको बताएपछि सुनुवाइ प्रक्रिया स्थगित गरिएको हो। प्रस्तावित राजदूत खरेलसम्बन्धी उजुरी र उठेका प्रश्नबारे समितिमा आन्तरिक छलफल भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।