काठमाडौं । नेपाल टेलिकम वर्कर्स युनियनले आज साउन ६ गते जननायक स्व विपी कोईरालाको ३८ औँ स्मृति दिवस र आफ्नो २९ औँ बार्षिकोत्सव कोभिड–१९ काबीच गतवर्ष भन्दा फरक किसिमबाट सम्पन्न गरेको छ ।
युनियनको काठमाण्डौं क्षेत्रीय समितिले गत हप्ता जोरपाटिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो । आज यस समिति अन्तर्गत रहेका ५२ वटा इकाई समिति मार्फत कम्पनीमा आउट सोर्सबाट काम गरी रहेका सुरक्षाकर्मीहरुलाई कोभिड –१९ बाट सुरक्षित रहनको लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण समेत गरेको छ ।
कार्यक्रम अन्तर्गत करिब २२० वटा फेस सिल्ड, ९० थान सेनिटाईजर, ९० प्याकेट पन्जा र दुईहजार थान माक्स वितरण गरेका छन् ।
नेपाल टेलिकमको काठमाडौं क्षेत्रीय निर्देशनालयमा भएको कार्यक्रममा क्षेत्रीय अध्यक्ष अचुत कुमार ओझाले कम्पनी, कम्पनीका स्रोत साधन र सम्पुर्ण सिस्टम र सम्पतीको सुरक्षामा लागिपर्ने श्रमिकहरुलाई एक ट्रेड युनियनकर्मीको नाताले विश्व महामारीमा रहेको समयमा सहयोग गर्न पाउँदा युनियन र आफुलाई गर्व महसुस भएको बताए ।
कम्पनीमा समेत माथिल्ला दर्जाका कर्मचारीले आफु मातहतका कर्मचारीहरुसँग घुलमिल नहुने परम्परा रहेको र अझ आउट सोर्स त्यसमा पनि सुरक्षा गार्डसँग पराईको व्यवहार गर्ने स्वभाव हामी मा यदाकदा भेटिदै आएको छ । यस्तो व्यवहार तत्काल छोडेर हाम्रो बानी बदल्नु पर्ने र सबैको महत्व पदले मात्र नभई कामले निर्धारण गर्ने भएकोले कामको ईज्जत गर्न सबैले सिक्नु पर्ने सुझाव दिए ।
उनले एक कोलस्टोर कम्पनीमा काम गर्ने उपल्लो दर्जाको कर्मचारीको उदाहरण दिदै भने, “एक दिन उक्त कर्मचारी आफ्ना सबै कर्मचारी साथीहरु गए पछि काम गर्दै थिए । अचानक विहोस हुन पुगेछन् । सुरक्षा गार्डले ढोका बन्द गरिदिएछ । उसलाई लागेछ आजको रात म बाँच्दिन ।
उ होसमा आएर आँखा खोल्छ । उसको अगाडी एक सुरक्षा गार्ड देख्छ । तब उसले सोच्छ । ढोका लगाई सकेको थियो । सबै कर्मचारीहरु गईसकेका थिए । तर मलाई कस्ले बचाएर यहाँ सम्म ल्याएको हो ? कसरी यो सम्भव भयो । तब सुरक्षा गार्ड बोल्छन् । यो कम्पनीमा हरेक दिन बिहान हजुरले अफिस आउँदा भाई गुड मडिङ्ग र घर फर्कदा भोली भेटौला बाई भन्नुहुन्थ्यो ।
तर आज मैले गुड मनिङ त सुने तर घर फर्कदा भोली भेटौँला बाई भनेको हजुरको आवाज नसुनेकोले पक्कै सर भित्रै हुनुपर्छ । भनेर ढोका खोली हेर्दा हजुर बेहोस अवस्थामा देखिदा भएकोले मैले बाहिर लेराएको हो सर । यसैले हामी सबै सँग मिलेर बसौ , बोलौ र सबैको कामको सम्मान गर्न थाल्यौ भने प्रत्येक मानिसको जिवनमा सबैको खाँचो बुझ्न सकिन्छ ।
श्रम र श्रमीकलाई सम्मान गर्ने समाजको निमार्ण गर्न सक्यौ भने देशको समवृद्ध सम्भव छ । कम्पनीको विकास र सफलता सम्भव छ । यसैले सबै खाले कामको सम्मान गर्ने संस्कारको हामीमा विकास होस शुभकामना ।”
कार्यक्रमका प्रमुख अतिथी नेपाल टेलिकम काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक राधाकृष्ण ढुङ्गेलले श्रमिकका हकअधिकार रक्षा र कम्पनीको दिगो विकासका लागि युनियनले पुर्याएको योगदानको प्रसंशा गर्दे आगामी दिनहरुमा समेत रचनात्मक र सकारात्मक सुझावको साथ कम्पनी हित र कर्मचारीका अफ्ठ्यारोमा युनियन सधै साथ र सहयोग रहिरहोस् भनि शुभकामना दिए । कार्यक्रमको सभापतीत्व ईकाइ अध्यक्ष रमेश अधिकारीले गरेका थिए ।
उक्त कार्यक्रमको संयोजन क्षेत्रीय सहसचिव सुस्मा थापाले गरेकी थिइन् । यसै प्रकृतिका कार्यक्रममा सम्पुर्ण टेलिकमका निर्देशनालय, विभाग र कार्यलयहरुमा सम्पन्न भएको छ ।
उपचारको क्रममा रगतको अभाव भएको भनिने समचार आई रहेको समयमा यस युनियनले आज नै केन्द्रिय कार्यालयमा गरेको रक्तदान कार्यक्रममा कोभिड–१९ को बीचमा समेत करिब ३४ जना रक्तदाता सहभागी भएर रक्तदान गरेका छन् । उक्त कार्यक्रमको संयोजन क्षेत्रीय सहसचिव निरञ्जन पराजुलीले गरेका थिए ।
Comment