प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई उद्योगी व्यवसायीको ज्ञापनपत्र, वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्ज मार्फत अर्थमन्त्री र गभर्नरलाई १४ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान सङ्घर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने मागसहित ज्ञापन पत्र बुझाइएको हो ।

समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्जका निमित्त निर्देशक रामकुमार कार्कीमार्फत गभर्नरलाई ज्ञापन पत्र बुझाइएको हो । गभर्नरलाई बुझाएको ज्ञापन पत्र अर्थमन्त्रीलाई बोधार्थ पठाइएको छ ।

ज्ञापन पत्रमा एक अंकको बैंक ब्याजदर कायम गर्नुपर्ने, १५ महिने कोरोनाकालको बेला बैंकलाई तिरेर ब्याज फिर्ता गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले सुरुको सम्झौता अनुसारको ब्याजदर कायम गर्नुपर्ने, १० करोड रुपैयाँभन्दा माथिको ऋण लगानी गर्दा सम्पत्ति शुद्धीकरणको कागजात अनिवार्य गर्नुपर्ने लगायतका रहेका छन् ।

समितिका संयोजक धामीले आफ्ना मागहरू सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले ज्ञापन पत्र बुझाउने क्रममा भने, ‘पहिलो चरणमा हामीले ज्ञापनपत्रमार्फत हाम्रा मागहरू प्रस्तुत गरेका छौँ । माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्नेछौँ ।’ सङ्घर्ष समितिले विरोधमा कालो पट्टि बाँध्ने, अनसन बस्ने र व्यवसायी सभा गर्ने तयारी गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।