काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनाव जित्दैमा आफूहरू जनताभन्दा माथि रहेको ठान्न नहुने बताएका छन्। चुनावी विजयलाई घमण्डको विषय बनाउन नहुने उल्लेख गर्दै उनले आफूहरू यही समाज र यही माटोका नागरिक भएको बताएका हुन्।
लामिछानेले चुनाव जितेर कुनै विशेष हैसियत प्राप्त नगरेको भन्दै जनताले दिएको मतलाई जिम्मेवारी र सेवाको अवसरका रूपमा लिनुपर्ने बताए।
‘हामीले एउटा चुनाव जितेका हौँ। कुनै ग्रहबाट खसेर आएका होइनौँ। हामी यहीँका मानिस हौँ, यही जमिनका मानिस हौँ, जुन कुरा हामीले भुल्नु हुँदैन,’ उनले भने।
उनले जनताले आफूहरूका गतिविधिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै जनतालाई असहज हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे। जनताले अत्यधिक मत दिएर विजयी गराउनुको अर्थ ठालु पल्टिन नभई अझ बढी जनताको सेवा गर्नका लागि भएको उनको भनाइ छ।
लामिछानेले प्रशासन र प्रहरीमाथि दबाब सिर्जना गर्ने प्रवृत्तिले राजनीतिक यात्रालाई लामो समयसम्म अघि बढाउन नसक्ने चेतावनीसमेत दिए। राजनीतिक नेतृत्व जनतासँग जोडिएर काम गर्नुपर्नेमा जोड दिँदै उनले जनताको विश्वास र अपेक्षालाई सधैँ सम्मान गर्नुपर्ने बताए।
‘जनताले हामीलाई अत्यधिक मत दिएको भनेको ठालु पल्टिन होइन, अझ बढी सेवा गर भन्नका लागि हो,’ उनले भने।
उनको अभिव्यक्तिले चुनावी विजयपछि पनि जनताप्रति उत्तरदायी, विनम्र र सेवामुखी भएर काम गर्नुपर्ने सन्देश दिएको छ।




Comment