आफ्नै भूमिको कालापानी क्षेत्रसम्म आवतजावत गर्न भारतीय अवरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुल । दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ।

विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ।

पहिलाको भन्दा झण्डै एक किलोमिटर तलसम्म भारतले छेकबार लगाएको छ। कालापानीसम्म नेपालका सुरक्षाकर्मीले समेत जान पाएका छैनन्। व्यासको गागामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले काली मन्दिरसम्म जाने प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्।

महाकाली नदीको मुहान हेर्न गएका सुरक्षाकर्मीलाई भारतीय सुरक्षाकर्मीले रोकेका हुन्।

स्थानीयवासी यो क्षेत्रमा अहिले जान सक्ने अवस्था छैन। चीनसँग पछिल्लो समय सीमा विवाद बढेपछि कालपानी क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बाक्लो उपस्थिति जनाएको छ।

यो क्षेत्रमा दैनिक सयौँ गाडीमा सुरक्षाकर्मी पुर्‍याइएको छ।

व्यासमा खटिएका एक नेपाली सुरक्षाकर्मीका अनुसार भारतीय सुरक्षाकर्मीले महाकालीको मुहानसम्म जान रोक लगाएको छ।

‘बिना हतियार त्यहाँसम्म जान दिन आग्रह गर्‍यौँ’ती सुरक्षाकर्मीले भने,’तर उनीहरुले त्यो ठाउँसम्म जान नपाइने भन्दै रोके।’

नेपालका सुरक्षाकर्मी कौवा क्षेत्रमा जानेबित्तिकै भारतपट्टिबाट सुरक्षाकर्मीले रेकी गर्छन्। गस्ती गरेकोबारे उनीहरुले माथिल्लो क्षेत्रमा मोटरसाइकलमा परिचालन भएर खबर गर्ने गरेका छन्।

कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिकै आदेश छ भन्दै एसएसबी (सशस्त्र सीमा बल) ले रोक्ने गरेको छ।

पहिलो घेरामा एसएसबी तैनाथ छन् । सशस्त्र प्रहरी गस्ती टोलीको नेतृत्व प्रहरी निरीक्षक लिलीबहादुर चन्दले गरेर त्यो क्षेत्रमा जाँदा भारतीय एसएसबीले फर्काएको थियो।

माथिल्लो कौवा क्षेत्रसम्म पनि स्थानीयवासी अहिले जानलाई डराउने गरेका छन्। आफ्नै भूमि भएर जान पनि स्थानीयवासीमा अहिले त्रास छ। कालापानी क्षेत्रमा पुगेका दीपक खातीले भारतीय सुरक्षाकर्मीले नेपाली जनता र सुरक्षाकर्मीलाई यो क्षेत्रमा आवतजावत गर्न नदिनु दुःखद् भएको बताए।

सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी, गुञ्जी र नावी अहिले पनि भारतमा छन्।

गुञ्जी र नावी गाउँ छाङ्गरु र माथिल्लो कौवा क्षेत्रबाट देख्न सकिन्छ। तर कुटी देखिँदैन।

पुरानो नक्साअनुसार ६२ वर्गकिलोमिटरभित्रको कालापानी क्षेत्रसम्म पनि नेपालीको पहुँच पुगेको छैन।

खाती भने, ‘नयाँ भूमिमा पुग्न त कहाँ हो कहाँ, पुरानै भूगोलसम्म पनि भारतले अवरोध गरेको देख्दा नरमाइलो लाग्छ।’-रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।