काठमाडौं । नयाँ प्रहरी महानिरीक्षक नियुक्तपछि सरकारले एआईजीमा पनि बढुवाको तयारी गरेको छ ।
नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवाली र अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणी लम्साल सेवानिवृत्त भएपछि दुई एआईजी पद रिक्त छन्।
सरकारले असारभित्रै रिक्त एआईजी पदमा बढुवा गर्ने गरी तयारी थाल्न आईजीपी क्षेत्रीलाई निर्देशनसमेत दिइसकेको बताइएको छ।
रिक्त एआईजी पदमा तीन डिआईजीबीच चर्काे प्रतिस्पर्धा छ । बरियता, कार्यक्षमता र योग्यताका आधारमा निरजबहादुर शाही र प्रद्युम्न कार्की स्वभाविक उम्मेदवार हुन् । तर, जुनियर डिआईजी विश्वराज पोखरेल जसरी पनि अहिले एआईजी हुने दौडमा छन् । जसकारण प्रतिस्पर्धा पेचिलो बनेको छ।
यतिबेला एआईजी बन्न नपाए पोखरेलले डीआईजीबाटै घर फर्किनु पर्नेछ। डीआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि उनको रिक्त स्थानमा पोखरेल ०७६ वैशाखमा डीआईजीमा एकल बढुवा भएका थिए।
वर्तमान सरकारले उनलाई प्रहरी महानिरीक्षक बनाउनकै लागि एकल डीआईजीमा बढुवा गरेको थियो। यसअघिको एआईजी बढुवामा पनि पोखरले निकै दौडधुप गरे तर, सफल हुन सकेनन्।
पोखरेललाई एआईजी बढुवा गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल सकारात्मक रहेको स्रोतले बताएको छ।
‘पोखरलेलाई व्यवस्थापन गर्न सरकारलाई चुनौती त छ तर, वरीयतामा अघि रहेका व्यावसायिक प्रहरी अधिकृत शाही र कार्कीलाई पछि पारेर उनलाई बढुवा गर्न सरकारलाई त्यति सजिलो नहोला,’ एक प्रहरी अधिकृतले भने।
पोखरेल एआईजीमा बढुवा नभए उनीभन्दा पछि डीआईजी भएका उनकै ब्याचका सहकुल थापा, वसन्त लामा र अरुण विसीमध्येबाट एक जना प्रहरी महानिरीक्षक बन्नेछन्।
आउन लागेको संघीय प्रहरी ऐनले हालको प्रहरी ऐनमा रहेको ३० वर्षे सेवा अवधि र उमेर हदका विषयमा थपघट गर्यो भने अहिलेको व्यवस्था रहँदैन। निर्विवाद आईजीपी बनेका क्षेत्रीका अगाडि एआईजी बढुवा पहिलो परीक्षा ठानिएको छ।
Comment