आर्थिक स्थायित्वका लागि चेम्बर र परिसंघले सहकार्य गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ। बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत् आर्थिक स्थायित्व र विकासका लागि निजी क्षेत्रका दुई प्रतिनिधिमुलक संस्थाबीच सहकार्य हुन लागेको हो।

उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई बधाई एवं शुभकामना दिने क्रममा दुवै संस्थाका नेतृत्वले सहकार्य गरेर अघि बढ्ने समझदारी गरेका छन्।

परिसंघका पदाधिकारीलाई बधाई दिँदै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समव्यनमार्फत् आर्थिक स्थायित्व दिनका लागि निजी क्षेत्रका संस्थाहरुले सहकार्य गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष मल्लले भने, ‘मुलुकको अर्थतन्त्रलाई उकास्न एवं निजी क्षेत्रको मागलाई सम्बोधन गर्न पनि हामीले सहकार्य गर्न जरुरी छ।’ उच्च ब्याजदरका कारण लगानीको वातावरण बन्न नसकेको भन्दै उनले पछिल्लो समय समग्र निजी क्षेत्रको मनोबल खस्किएको बताए।

मौद्रिक नीतिमार्फत् वित्तीय स्थायित्व कायम गर्न एवं ब्याजदर नियन्त्रणका लागि सरोकारवाला सरकारी निकायलाई एकै स्वरमा झक्झक्याउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ।

चेम्बर, परिसंघ र उद्योग वाणिज्य महासंघले आगामी वर्षको मौद्रिक नीतिका लागि बिहीबार संयुक्त सुझावसमेत पेस गर्दैछन्। ब्याजदर नियन्त्रण गरेर वित्तीय क्षेत्रको सुधारका लागि आगामी वर्ष निरन्तर सहकार्य गर्ने विषयमा पनि चेम्बर र परिसंघबीच समझदारी बनेको छ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

आर्थिक विकास र समृद्धि निजी क्षेत्रको चाहना भएको भन्दै अग्रवालले आफूहरुको मागलाई सम्बोधन गर्नका लागि सरकारसँग नियमित छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। उद्यारो कारोबारलाई निरुत्साहित गर्न अभियान चलाउने सम्बन्धमा पनि चेम्बर र परिसंघबीच सहकार्य गर्ने समझदारी बनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।