‘शताब्दी –यात्रा’ गर्ने ‘पण्डित माता’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । पौराणिक कथा तथा किंवदन्तीहरूमा विश्वास गर्ने हो भने मानिसको सरदर आयु एक सय वर्ष हो। मन र शरीर स्वस्थ्य रहेमा त्यसभन्दा बढी पनि बाँचेका उदाहरणहरू छन्।

कोही बुढ्यौली उमेरलाई ‘दिन काट्ने काल पर्खने’ भन्छन् त कोही ‘बुढो भयो सब रङ्ग गयो, आँगन भयो परदेश।’ तथापि स्वस्थ्य मानिसहरूलाई उमेरले केही गर्दैन। प्रौढ मानिसले अरूलाई दिन सक्ने खास चिज हो– अनुभव। त्यो पनि लिखित रूपमा आएमा भविष्यका पुस्तालाई उपयोगी हुनेछ। 

नेपालबाट  बालककालमै म्यान्मा पुगी फेरि नेपालको मोरङ हुँदै हाल ललितपुर, कुसुन्ती आइपुगेकी इन्द्रमाया पौड्यालले आफ्नो सयवर्षे जीवनका तिनै अनुभव पस्केर पाठकहरूलाई गुन लगाएकी छन्।

‘शताब्दी –यात्रा’ (प्रकाशक स्वयं, २०८०) एउटी वृद्धाको देशविदेशमा रहँदाको दुःख, सङ्घर्ष र आनन्दानुभूतिको पनि कथा हो। 

मूल माइतीघर नेपालको ताप्लेजुङ भएकी पौड्याल सानैमा परिवारसाथ म्यान्मा पुगी उतै बिहाबारी भई पछि भारत हुँदै नेपाल फर्किएकी हुन्। 

नेपाल–भारत–म्यान्मा–भारत हुँदै फेरि नेपाल आइपुगेकी उनी अन्य नेपाली नारीभन्दा यस अर्थमा फरक छिन् कि उनी गीता पाठ गर्थिन्, हिन्दू संस्कारका कर्मकाण्ड गराउँथिन्। 

महिलाहरूलाई स्वस्थानी व्रत समापन गराइदिने, बालकहरूको व्रतबन्ध गराइदिने, जनै बाट्ने जस्ता पुरुषले गर्ने काम पनि गर्न सक्ने उनको विशेषता थियो। 

उनको जिकिर छ, मूल संस्कृत रामायणमा नभएको दुई प्रसङ्ग भानुभक्तको ‘रामायण’ मा छैनन्– पहिलो रावणपत्नी मन्दोदरीको बालिसँगको सहवासपछि छोरा अङ्गद जन्मेको कुरा र दोस्रो ब्रह्माले रावणलाई दिएको कालवाण आफ्नो राजमहल निर्माण गर्दा जगमा लुकाएर राखेको कुरा। यदि यसो हो भने छुटेका कुरा थप्न सके भानुभक्तको ‘रामायण’ ले अझ पूर्णता पाउँथ्यो। 

आफूले जन्माएका ५ छोराछोरी सानैमा बितेको,  पतिको  युवावस्थामा निधन भएको र परिवारका अन्य सदस्यको पनि मृत्यु भएको– यस्तो पीडा खपेकी ‘माता’ ले नेपालमा विसं १९९० र ०७२ को भूकम्प तथा ‘बर्मा’ मा दोस्रो विश्वयुद्धको त्रासदी पनि भोगिन्। 

राजा महेन्द्रका प्रयासबाट अन्य नेपाली परिवारका साथ भारत कोलकाता हुँदै नेपाल फर्किएकी उनको ११ जनाको परिवार मोरङ, तत्कालीन बरडङ्गा गाउँपालिका, कल्याणपुर फर्क्यो‚ झोडा फाँडेर बस्न थाल्यो र ऋण लिएर बस्यो, साहुले जाली तमसुक बनाएर घरबार उठायो र कनिका खाँदै दुःखका अरू दिन काट्नु पर्‍यो। 

तैपनि उनले ससानो चियापसल गर्दै गाउँका बालबालिकालाई कखरा, नेपाली र संस्कृत भाषा पढाउँदै जीवन चलाइन्। उनका पिता दामोदर खतिवडाले काले राई (डा स्वामी प्रपन्नाचार्य) लाई बालकैमा पढाएका रहेछन्। 

‘शिक्षाले मानिसलाई आँट, साहस दिन्छ। सोचको दायरालाई र दृष्टिकोणलाई फराकिलो बनाउँछ। नारी शिक्षाको महत्त्व कति छ भन्ने कुरा मैले आफ्नै जीवनबाट अनुभव गरेकी छु,’ शतवर्षीया लेखिका पौड्याल भन्छिन्। 

पछि ज्वाइँछोरीहरूका सहायताले बेलायत, अस्ट्रेलिया भ्रमणका साथै भारत र नेपालका केही तीर्थस्थलको भ्रमण गरेकी उनले केही दुर्घटना र स्वास्थ्य समस्या पनि निकै भोग्नु पर्‍यो। 

कान्छी छोरी विमला पौड्यालले अन्तरजातीय विवाह गर्दा निकै पछि मात्र आफूले समर्थन दिएको, उनी परराष्ट्रमन्त्री हुँदा घरमा परिवारसहित खीर खाएको, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको, अङ्कबाट पनि भाषा अर्थात् कुराकानी गर्ने सूत्र जानेको जस्ता अन्य रोचक प्रसङ्ग पनि पुस्तकमा उल्लेख छ।

कृतिको भूमिकामा पूर्वसांसद विन्दा पाण्डे(पिएचडी)  लेख्नुहुन्छ, ‘जीवन बुझ्नु पहिला नै विवाह, प्रवासी जीवनले सँगालेका अनुभव, युद्धभूमिमा सामान्य नागरिकको जीवन र देश फर्कँदाको त्यो त्रासदीपूर्ण अवधिमा धैर्यमा तैरिएर पारी किनारा पुगेको जीवन साँच्चै साहसिक लाग्छ।’ 

अरुणिमा बस्ती, कुसुन्तीमा मातासँग एउटै आवासीय क्षेत्रमा रहेका वरिष्ठ पत्रकार युवराज घिमिरे पुस्तक एक व्यक्ति, एक नारी, एक योद्धा र एक विदूषी र एक आमाको रहेको रहेको बताउँछन् भने पत्रकार अमृता लम्साल आइपर्ने कुनै पनि कठिन परिस्थितिमा आत्तिनुहुन्न र सुखद परिस्थितिमा मात्तिन हुन्न भन्ने पाठ उनको भोगाइले पढाउने विश्वास व्यक्त गर्छिन्। 

पत्रकार शुभेच्छा विन्दु तुलाधरले सम्पादन गरेको कृतिमा केही शब्दगत (‘अष्टवेद’–हुनुपर्ने अश्वमेध),  वर्णविन्यासगत र व्याकरणगत त्रुटि तथा पुनरुक्ति जस्ता दोष छन्। आवरण पृष्ठमा कृतिको शीर्षक अपेक्षाकृत सानो अक्षरमा र लेखिकाको नाम कोष्ठमा राखिनुपर्नाको कारण  बुझिएन।

लेखिकाको वंशावली, सम्बन्धित तस्वीर र पत्रहरूले कृतिलाई अझ ओजपूर्ण बनाएको छ। हरेक मानिसले यसरी आफ्ना अनुभव बाँड्दै जाने हो भने हाम्रो इतिहास संरक्षण गर्न मद्दत पुग्नेछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।