कांग्रेसले भन्यो- विदेशबाट आउन चाहने नेपालीलाई फिर्ता ल्याइयाेस‍्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले विज्ञप्ति निकालेर स्वदेश आउन चाहने नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग अ‌ाग्रह गरेकाे हाे ।

विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार रहेको कांग्रेस केन्द्रीय सदस्य एवं विभागका प्रमुख गोविन्द भट्टराईले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

स्वदेश अ‌ाउन चाहाने नेपालीलाई संख्‍या नताेकी ल्याउन पनि कां‍ग्रेसले विज्ञप्तिमार्फत अनुराेध गरेकाे छ ।

सरकारले नेपाल अ‌ाउनैपर्ने अवस्थाका नेपालीलाई कार्यविधि बनाएर ल्याउन थालेकाे छ । सरकारले शुक्रबारदेखि उनीहरुकाे उद्धार थालेकाे हाे । कम्तिमा २५ हजार नेपालीलाई स्वदेश ल्याउने लक्ष्‍यसहित सरकारले काम गरिरहेकाे छ ।

कांग्रेसले त्यसकाे खण्‍डन गर्दै संख्‍या नताेकी अ‌ाउन चाहाने सबै नेपालीलाई स्वदेश ल्याउन अ‌ाग्रह गरेकाे हाे । स्वदेश ल्याउनु मात्रै उपलब्धि नभई तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्न पनि विज्ञप्तिमार्फत अनुराेध गरिएकाे छ ।

विदेशबाट ल्याइएका सबै नेपालीको पिसीआर विधिबाट काेराेना परीक्षण गर्न र विश्व स्वास्थ्य संऊठनको मापदण्डअनुसार क्वारेन्टाइनमा राख्न पनि कांग्रेसले अ‌ाग्रह गरेकाे छ ।

काेराेनाका कारण धेरै नेपाली घर फर्कन सक्‍ने अवस्था समेत अ‌ाउने भन्‍दै का‌ंग्रेसले साेहीअनुसार तयारी थाल्न सरकारलाई सुझाव समेत दिएकाे छ ।

शुक्रबार म्यानमारबाट २६ र युनाइटेड अरब इमिरेट‍्स (युएई) बाट १ सय ६८ नेपाली स्वदेश फर्किएका छन् ।

विज्ञप्ति :

आफ्नो घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ ।

नेपाली कांग्रेसले कोरोना भाइरसको महामारी सुरु हुदाकै समयदेखि विदेशमा रहेका घर फर्कन चाहने नेपाली नागरिकलाई सरकारले फिर्ता ल्याउनु पर्छ भन्ने धारणा राख्र्दै आएको थियो। मैलै गत बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर विदेशमा रहेका नेपालीहरुलाई फिर्ता ल्याउन पहल गर्न आग्रह गरेको थिए । ढिलै भएपनि सरकारले विदेशमा अलपत्र परेका तथा स्वदेश फर्कन इच्छुक नेपालीहरुलाई ल्याउने प्रक्रिया सुरु गरेको छ । त्यसको लागि म नेपाली कांग्रेस जनसम्पर्क समन्वय समितिको तर्फबाट सरकारलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।

तर, नेपाल ल्याउनु मात्रै उपलव्धि नभई अब तत्कालिन र दीर्घकालिन योजना बनाएर काम गर्ने समय पनि आएको छ । कोरोना भाइरसको महामारी कहिले अन्त्य हुन्छ भन्ने अन्यौलताले हुन सक्ने आर्थिक मन्दी समेतलाई ध्यानमा राखेर विदेशमा रहेका नेपालीहरु भोलीका दिनमा ठूलो संख्यामा घर फर्कनुपर्ने अवस्था आउन पनि सक्छ ।

तसर्थ म नेपाल सरकारलाई तत्काल निम्न अनुसारका कार्य अघि बढाउन अनुरोध गर्न चाहन्छु ।

(१) विदेशबाट ल्याईएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैको कोरोना भाइरस पीसीआर विधिबाट परिक्षण गरियोस् । र, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको क्वारेन्टिन वा अन्य प्रवन्ध मिलाईयोस् ।

(२) सरकारले विभिन्न देशमा रहेका २५ हजार नेपालीलाई फिर्ता गर्ने तथ्यांक सार्वजनिक गरेको छ । विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर फर्कन पाउने अधिकार छ । तसर्थ सख्या तोक्ने होईन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्छ ।

(३) आर्थिक बर्ष २०७६÷७७ को सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका ५ लाख नेपालीलाई स्वदेश फिर्ता गरेर रोजगारीमूलक काममा लगाउने उल्लेख गरिएको थियो । सायद त्यो कार्यन्वयन त भएन होला, तर त्यसलाई कोरोना महामारीका बेला अहिले कार्यन्वयन गर्न सकिने समय आएको छ । तसर्थ विदेशबाट फिर्ता भएका नेपालीहरुलाई रोजगारीमूलक काम दिनेगरी तत्काल विषेश कार्यक्रम घोषणा गरेर कार्यन्वयन गर्नु पर्दछ ।

(४) विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर वा सम्वन्धित मुलुकका सरकारसँग कुटनीतिक पहल गरी उनीहरु कार्यरत कम्पनी वा सरकारको लगानीमा नेपाल ल्याउन प्रवन्ध गर्नुपर्छ ।

(५) विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले कोभिड १९ का कारण रोजगारी गुमाएको अवस्था छ । उनीहरुलाई अहिले अध्ययनरत कलेज तथा विश्वविद्यालयले शुल्क तिर्न ताकेता गरिरहेका छन् । रोजगारी पनि नहुने र नेपालबाट पैसा पठाउन पनि सहज नहुदा उनीहरुको विचैमा पढाई छुट्ने अवस्था आउने देखिएको छ । तसर्थ सरकारले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई शुल्क तिर्नका लागि नेपालबाट पैसा पठाउने सहज प्रवन्ध मिलाउन आग्रह गर्दछु ।

जय नेपाल !

गोविन्द भट्टराई

प्रमुख

नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।