नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।

लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो । ‘अहिले धमाधम काम भइरहेको छ’, आयोजनाका सूचना अधिकारी इञ्जीनियर शिव खनालले भन्नुभयो, ‘असार मसान्तसम्म काम सम्पन्न हुन्छ ।’ उहाँले कामदारको समस्या भए पनि स्थानीयस्तरबाट व्यवस्थापन गरेर कामलाई निरन्तरता दिएको बताउनुभयो । 

उहाँका अनुसार सडकखण्डको नौ ठाउँमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरिएको छ ।

सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको खनालले बताउनुभयो । नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जीनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्नेछ ।  १४ करोड नौ लाख  लागत रूपैयाँमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभीले पाएका हुन् । सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् । – रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।