प्रतिनिधिसभा सदस्य अरुण चौधरी १० वर्षदेखि फरारको सूचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाका सदस्य अरुणकुमार चौधरी नौ वर्षदेखि फरार सूचीमा रहेको भेटिएको छ । चौधरीसहितका तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते ६ महिना कैद तोकेको थियो ।

सांसद चौधरीसहितले २०६५ साल भदौ ३ गते लु २ त  २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो । हालको लम्कीचुँहा नगरपालिका (साविकको बलिया गाविस)  क्षेत्रमा सो ट्याक्टर जलाइएको थियो ।

मुद्दामा ट्याक्टर जलाएर ८ लाख १९ हजार ४२३ रुपियाँ बराबरको क्षति पुगाएको दाबी ट्याक्टरका मालिक महादेव वजगाईले गरेका थिए । अदालतले तीनै जनाबाट विगो रकम असुल्न समेत आदेश गरेको पाइएको छ ।

सो मुद्धामा लम्कीचुँहाकै पर्शुराम चौधरी र वीरबहादुर चौधरी दोषी ठहरिएका छन् । शुक्रबार वीरबहादुर चौधरी पक्राउ परेपछि सांसद चौधरी फरार सूचीमा रहेको खुलासा भएको हो ।

२०७४ मा लम्कीचुँहाको मेयर र प्रदेशसभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । उनी रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीबाट विजयी भएका हुन् ।

अदालतले सांसद चौधरीलाई फरार सूचीमा राखे पनि प्रहरीले उनलाई पक्राउ गरेको छैन ।

पक्राउ परेका वीरबहादुर चौधरीले कारागार कार्यालय कैलालीमार्फत नगद दाखिरा गरी कैद मुक्त गराइ पाउँ भन्ने निवेदन दिएकामा कैलाली जिल्ला अदालतले त्यसलाई अस्वीकार गरिदिएको छ ।

‘निवेदन प्रतिवादी वीरबहादुर चौधरीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिमको सुविधा पाउँ भनि दिएको निवेदन सम्बन्धमा विचार गर्दा,’ जिल्ला अदालतले आज १३ माघमा दिएको आदेशमा भनिएको छ, ‘फरार रहेका वीरबहादुर चौधरीसमेतका नाउँमा समाह्वान म्याद जारी हुँदा निज अदालतमा उपस्थित नभएको र अदालतको फैसलापश्चात पनि निज प्रतिवादी कैद भुक्तानका लागि यस अदालतमा उपस्थित नभइ फरार नै रहेको र अहिले प्रहरीले पक्राउ गरी ल्याएपछि मात्र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी सुविधा पाउँ भनी आएको देखिँदा कैद मुक्त गर्ने आदेश गर्न मिलेन ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।