काठमाडौं । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएका बेला मतदाता शिक्षा कार्यक्रम अन्तर्गत काठमाडौंको तीनकुनेस्थित ट्रिटन इण्टरनेशनलमा वि./कलेजमा विद्यार्थीहरुकै सहभागितामा नमुना मतदान गरिएको छ ।
निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो ।
क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्धेश्यले यो कार्यक्रम गरिएको कलेजका नमुना मतदान कार्यक्रम व्यवस्थापक कमान सिंह आर.सि.ले बताए ।
नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिक हरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने लगायतका विषयहरु सिकाइएको थियो ।
नमुना मतादनमा साच्चिकै निर्वाचनमा हुने सबै प्रक्रिया पुरा गरिएको नयाँबानेश्वर प्रहरी बृत्तका डिएसपी निशान्त श्रीवास्तवले बताए।
यस्ता कार्यक्रमहरुले मतदाता शिक्षा प्रभावकारी हुने, मतदानमा नागरिक सहभागिता बढ्ने तथा बदर मतको संख्या कम हुने उनको भनाई छ ।

Comment