काठमाडौं । जानकी मन्दिरमा आन्तरिक विवाद शुरु भएलगत्तै यहाँका स्थानीय युवा, व्यापारी, संघसंस्थालगायतले जानकी मन्दिरलाई ट्रस्टमा लैजान माग गरेका छन्।
जानकी मन्दिरलाई ट्रस्टमा लैजान माग गर्दै उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले भने, ‘पछिल्लो समय जानकी मन्दिरमा आर्थिक चलखेल बढेको छ, त्यसबाट जोगिन र हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरलाई बचाउन अब मन्दिरलाई ट्रस्टमा लग्नु बाहेक अरु कुनै उपाय छैन।’
त्यस्तै जनकपुर उद्योग वाणिज्य संघका महासचिब जितेन्द्र महासेठले पछिल्ला समय जानकी मन्दिरमा आर्थिक चलखेल बढेका बताए। उनले विभिन्न सञ्चारमाध्यममा समाचारहरु हेर्दा मन्दिरको पुरातात्विक र पुराना अचल सम्पत्तिहरु बाबा तपेश्वरको नियन्त्रणमा रहेको बताए।
उनले भने, ‘जानकी नवमी, विवाह पञ्चमी लगायतका महोत्सवहरुमा हुने आम्दानी र खर्चहरु बाबा रोशनको कन्ट्रोलमा देखियो तर यि सबैै सम्पत्ति राष्ट्रिय सार्वजानिक सम्पत्ति हुन्। साधुबाबाको काम पुजापाठ आरती र भजन गर्ने हो न कि आर्थिक चलखेल। सम्पत्तिका दुवै रक्षकबीच कडा विवाद पनि स्पष्ट छ र प्रशासन तथा सम्बन्धित तिनवटा सरकारहरु मौन। अब यसको सुरक्षाका निमित्त मन्दिरलाई ट्रस्टमा लग्नु बाहेक अरु उपाय छैन।’
त्यस्तै, जनकपुर उद्योग वाणिज्य संघले जानकी मन्दिरलाई ट्रस्टमा लैजान केन्द्र र प्रदेश सरकारसँग पहलका निमित्त उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिराको संयोजकत्वमा ११ सदस्यीय समिति नै गठन गरेको छ।
Comment