अध्यादेश फिर्ता लिन कांग्रेसको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अध्यादेश फिर्ता लिन सरकारलाई अपिल गरेको छ ।

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको केन्द्रीय पदाधिकारी बैठकले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपूरक संख्या घटाउने अध्यादेश फिर्ता लिन अपिल गरेको हो।

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले दुइटै विधेयक संविधानको मूल मर्म, भावना र अहिलेको परिस्थितिमा ल्याउन नहुने कांग्रेसको निष्कर्ष रहेको जानकारी दिँदै फिर्ता लिन सरकारलाई अपिल गरिएको बताए।

उनका अनुसार बैठकले विधेयक फिर्ता लिएर नागरिकको जीवनप्रति गम्भीर बन्न र सम्पूर्ण रूपले कोरोनासँग जुध्नेतिर केन्द्रीत हुन सरकारलाई अपिल गर्ने निर्णय गरेको हो।

‘अहिले यो विषयमा ध्यान दिने बेला नै होइन। अहिले सरकार, प्रतिपक्ष, राजनीतिक दल, संघसंस्था, सारा संसार कोरोनाविरुद्धको संघर्षमा छ। कसैले भनिदियोस्, आएका विधेयकले कोरोनासँग लड्न सजिलो हुन्छ। यी विधेयक नहुँदा वा संविधानका प्रावधानले कोरोना विरुद्ध लड्न गाह्रो भयो। यो त बिल्कुल होइन,’ उनले भने, ‘त्यसकारण विषयभन्दा बाहिर जानु अत्यन्त आपत्तिजनक छ। खेदजनक छ, भर्त्सनायोग्य छ। कांग्रेसले यो मान्दैन।’

बैठकले अपिलका साथै विधेयक फिर्ता लिन सार्वजनिक रूपमा पनि दबाब दिने निर्णय गरेको छ। ‘लकडाउन भएकाले सडक प्रदर्शन गर्दनौं। जिम्मेवार रूपमा सामाजिक सञ्जालबाट बोल्छौं। भ्रातृ संगठनहरु बोल्छन्। कालो झण्डा देखाउने पनि हुन्छ,’ प्रवक्ता शर्माले भने।

अहिलेको सबैभन्दा प्रधान विषय कोरोनाविरुद्ध संघर्ष नै भएको कांग्रेसको ठहर छ। ‘दुइटै विधेयक फिर्ता लिन र अन्य सबै विषय थाती राख्दै सुकुम्बासी आयोग बनाउने, यो प्रकारका विधेयक ल्याउने बन्द गरेर मूल विषय छोडेर यी बाटोमा नलाग्न, नेपाली जनताको जीवनलाई गम्भीरतापूर्वक लिन र कोरोना संघर्षबाहेक कुनै विषयमा नअल्झिन आग्रह गरिएको छ,’ शर्माले भने।

कोरोनाविरुद्ध लड्न सबै पार्टीको एकता चाहिएको बेला पार्टी विभाजन गर्ने विधेयक ल्याउनु अशोभनीय र अनावश्यक शर्माको भनाई छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।