त्रिविका प्राध्यापकको चेतावनी : खोप नपाएसम्म परीक्षाको काममा सहभागी हुँदैनौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको सुर्खेत शिक्षा क्याम्पसका प्राध्यापकहरुले कोरोनाविरुद्धको खोप नपाएसम्म विद्यार्थीको परीक्षाका कुनै पनि काममा सम्मिलित नहुने चेतावनी दिएका छन् ।

मंगलबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै चार प्राध्यापक संघ, संगठन र त्रिवि, कर्मचारी संघले कोरोनाविरुद्धको अभियानबाट प्राध्यापक तथा कर्मचारी वञ्चित भएको बताएका छन् । 

‘ठूलो भिडभाड तथा जमघटसहितको परीक्षा सञ्चालनमा यही परिस्थिति विद्यमान रहेसम्म हामीहरु सम्मिलित नहुने स्पष्ट पार्न चाहन्छौँ,’ वक्तव्यमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा हामीलाई तत्काल परीक्षा हुनुको दुई हप्ताअघि नै कोरोनाविरुद्धको खोप उपलब्ध गराई परीक्षामा सहभागी हुने वातावरण सिर्जना गरियोस् ।’

उनीहरुले सुर्खेत क्याम्पस, वीरेन्द्रनगर नगरपालिका, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सुर्खेत, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, केन्द्रीय समिति र त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको समेत ध्यानाकर्षण गराएका छन् । 

त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले रोकिएका परीक्षा आगामी साउनको पहिलो साताबाट लिने गरी सूचना प्रकाशन गरेको अवस्थामा त्योभन्दा पहिले खोपको व्यवस्थापन हुनुपर्ने त्रिवि प्राध्यापक संघ, सुर्खेत क्याम्पस शिक्षाका सभापति बलभद्र भारतीले बताए ।

कोरोनाका कारण त्रिविका कर्मचारी, प्राध्यापकहरु समेत नराम्रोसँग प्रभावित भएको अवस्थामा तत्काल खोप उपलब्ध गराउनुपर्ने माग उनले गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।