काठमाडौं । कुल स्थायी लेखा नम्बर(प्यान) लिनेको संख्या ८१ लाख नाघेको छ ।
आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म व्यावसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर (प्यान)सहित कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ।
विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२-८३ को असार मसान्तसम्म विभिन्न प्रकारका स्थायी लेखा नम्बर लिनेको संख्या ७९ लाख १० हजार ८६४ थियो ।
चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ लाख ८४ हजार ५५० स्थायी लेखा नम्बर थपिएसँगै कुल संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो। तथ्यांकअनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बी–प्यान) लिने करदाताको संख्या असोज मसान्तसम्म २२ लाख २७ हजार ८३७ पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो संख्या २१ लाख ७४ हजार ९१२ थियो। असोज महिनामा मात्रै ५२ हजार ९२५ व्यावसायिक प्यान थपिएका छन्।
त्यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर (पी–प्यान) लिनेको संख्या ५९ लाख २७ हजार ९३५ पुगेको छ। गत असार मसान्तसम्म ५६ लाख ९६ हजार ७०८ जनाले व्यक्तिगत प्यान लिएका थिए। असोजमा मात्रै २ लाख ३१ हजार २२७ व्यक्तिगत प्यान थपिएका हुन्।
भुक्तानीमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (डब्लूपीएएन)को संख्या भने असोज मसान्तसम्म ३९ हजार ५६२ पुगेको छ। गत असार मसान्तसम्म यस्तो संख्या ३९ हजार १६४ थियो। असोजमा ३९८ वटा थपिएका छन्।
यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताको संख्या ३ लाख ९० हजार ४७ पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म भ्याटमा दर्ता हुनेको संख्या ३ लाख ७८ हजार २६८ थियो। असोज महिनामा मात्रै ११ हजार ७७९ करदाता भ्याटमा थपिएका छन्।
अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या पनि बढेको छ। गत असार मसान्तसम्म १ लाख ३२ हजार ६७२ रहेको अन्तःशुल्क दर्ता संख्या असोज मसान्तसम्म १ लाख ३८ हजार ९२६ पुगेको छ। असोज महिनामा मात्रै ६ हजार २५४ करदाता थपिएका हुन्।




Comment