माधव नेपाल र डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङस्थित रिजाल क्यानिङ एन्ड कम्पनीको हदबन्दी छुटको जग्गा सट्टापट्टा गरी हिनामिना गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले प्रतिवादीहरूविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना, कैद सजाय तथा जग्गा जफतको मागदाबी गरेको छ ।

फलफूल उद्योग सञ्चालन गर्ने प्रयोजनका लागि रिजाल क्यानिङ एन्ड कम्पनीलाई मोरङ र सुनसरीमा हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिइएको थियो । तर, कम्पनीले कानुनले तोकेको सर्तअनुसार जग्गा उपयोग नगरेपछि उक्त जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम स्वतः सरकारी कायम हुनुपर्ने थियो ।

अख्तियारको अनुसन्धानअनुसार जफत हुनुपर्ने जग्गालाई सरकारी निकायका पदाधिकारीसँगको मिलेमतोमा सट्टापट्टा गर्ने निर्णय गराइएको थियो । साविक विराटनगर उपमहानगरपालिका–३ स्थित कित्ता नम्बर ४८ र ७१ को चार बिघा पाँच कठ्ठा नौ धुर जग्गा मोरङको बनिगामास्थित कम मूल्यको जग्गासँग सट्टापट्टा गर्ने निर्णय भएको थियो ।

कम्पनीले बनिगामाको जग्गा १२ लाख ८५ हजार रुपैयाँमा खरिद गरेको थियो भने विराटनगरको बहुमूल्य जग्गा आठ करोड ३८ लाख रुपैयाँभन्दा बढीमा बिक्री गरेको अख्तियारको दाबी छ । आयोगका अनुसार हालको सरकारी न्यूनतम मूल्यांकनअनुसार उक्त जग्गाको मूल्य ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ कायम गरिएको छ ।

अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बदनियतपूर्वक उक्त जग्गा सट्टापट्टासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न लगाएको आरोप लगाएको छ । नेपालकै पहलमा २०६६ मङ्सिर १६ गते प्रस्ताव मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाउने निर्णय भएको अभियोगपत्रमा उल्लेख छ ।

त्यस्तै, सामाजिक समितिका तत्कालीन संयोजक डा. मिनेन्द्रप्रसाद रिजालले कम्पनीका सञ्चालकहरूसँग स्वार्थको द्वन्द्व हुँदाहुँदै २०६६ पुस १६ गते जग्गा सट्टापट्टा गर्न दिने निर्णय गराएको अख्तियारको आरोप छ । सोही निर्णयसँगै हदबन्दी छुटसम्बन्धी कार्यनीतिसमेत निलम्बन गरिएको आयोगले जनाएको छ ।

यस प्रकरणमा तत्कालीन भूमिसुधार सचिव छविलाल पन्त, सहसचिव रमेशचन्द्र अधिकारीलगायत राजनीतिक तथा उच्च प्रशासनिक नेतृत्वका व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको छ । साथै भूमिसुधार तथा व्यवस्थापन विभाग, मालपोत कार्यालय विराटनगर, जिल्ला कृषि विकास कार्यालय, नापी कार्यालय तथा स्थानीय निकायका तत्कालीन कर्मचारीहरूलाई समेत मुद्दामा समेटिएको छ ।

रिजाल क्यानिङ कम्पनीका सञ्चालकहरू कुलचन्द्रप्रसाद रिजाल, राजेन्द्रप्रसाद रिजाल, जनकप्रसाद रिजाल, देवेन्द्रप्रसाद रिजाल, बद्रीप्रसाद रिजाल र पशुपतिप्रसाद रिजाललाई पनि प्रतिवादी बनाइएको छ ।

मृत्यु भइसकेका तत्कालीन मन्त्री डम्बर श्रेष्ठ, तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरे र डा. बच्चुराम कार्कीलगायतका व्यक्तिका हकदारलाई बिगो असुलउपर गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ । त्यस्तै, विभिन्न चरणमा जग्गा खरिद गरी आफ्नो नाममा दर्ता गराएका ४० भन्दा बढी व्यक्ति तथा संस्थालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, दफा ३ (१) तथा मतियारको हकमा दफा २२ बमोजिम कैद, बिगो बराबर जरिवाना र सार्वजनिक पदको दुरुपयोग गरेको आधारमा थप सजायको मागदाबी गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आरोपपत्र दायर गरिएको जानकारी दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।