काठमाडौं । बंगालको खाडीबाट भारत प्रवेश गरेको अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि चक्रवातको प्रभाव उल्लेखनीय रूपमा देखिने र आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा, हिमपात तथा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार चक्रवातको प्रभावका कारण गएरातिदेखि देशभरको आकाशमा साधारणतया बादल लागे पनि वर्षा भने भएको छैन । बिहीबारदेखि यसको प्रभाव थप देखिने भएकाले आफ्नो क्षेत्रको मौसमसम्बन्धी सूचना अद्यावधिक राख्न महाशाखाले आग्रह गरेको छ ।
पश्चिममध्य बंगालको खाडीमा बनेको चक्रवात ‘अर्नब’ बुधबार बिहान सवा ८ बजेतिर भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ तथा असिनासहित मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यसैगरी, कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा समेत भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।





Comment