झापा । दोस्रोv झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ।
प्रतियोगिताबारे आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो।
देशकै प्रतिष्ठितमध्ये एक मानिने तथा सर्वाधिक चर्चा कमाएको प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका तीन विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष सन्तोष थापाले जानकारी दिए।
प्रतियोगितामा नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरीका टोलीसँगै भारत, भूटान र अर्को एक विदेशी टोली, एक ए डिभिजन क्लब तथा आयोजक टोली सहभागी हुनेछन्। आयोजकले कोशी प्रदेशका महिला खेलाडी छनोट गरी आफ्नो टोली पनि तयार पार्ने जनाएको छ।
प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु २५ हजार प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु १५ हजार पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि रु एक करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितालाई लक्षित गरी दूधे रङ्गशालाको स्तरोन्नति भइरहेको र दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिने आयोजकले जनाएको छ।




Comment