एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको द्वन्द्व समाधान गर्न र हर्मुज जलयोजक पुनः खोल्नका लागि इरानले अघि सारेको शान्ति प्रस्ताव अस्वीकार गरेपछि सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको छ ।
ब्रेन्ट कच्चा तेलको फ्युचर्स मूल्य ३.४३ डलर अर्थात् ३.२९ प्रतिशतले बढेर प्रति ब्यारल १०७.७५ डलर पुगेको छ जबकि अमेरिकी वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) कच्चा तेल २.१४ डलर अर्थात् २.३२ प्रतिशतले बढेर प्रति ब्यारल ९४.५५ डलर पुगेको छ ।
इरानले गत साता न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा एक शान्ति प्रस्तावको घोषणा गर्दै यो प्रस्ताव कतारी मध्यस्थकर्तामार्फत अमेरिकीहरूसमक्ष पुर्याइएको बताएको थियो । ट्रम्पले शनिबार उक्त योजना अस्वीकार गरेको बताएका थिए तर आइतबार एक्सिओससँगको फोन अन्तर्वार्तामा उनले यस हप्ता अमेरिकी वार्ताकारहरू थप वार्तामा संलग्न हुने अपेक्षा गरेको बताएका छन् ।
नयाँ दिल्लीस्थित अनुसन्धान संस्था एसएस वेल्थस्ट्रिटका संस्थापक सुगन्धा सचदेवा भन्छिन्, ‘कूटनीतिक प्रयासहरू समाप्त भइनसके तापनि यस अस्वीकृतिले तत्काल कुनै निकास निस्कने आशालाई भने घटाएको छ ।’
‘ब्रेन्ट फ्युचर्सका लागि प्रति ब्यारल १२० डलर महत्त्वपूर्ण प्रतिरोधको रूपमा कायमै छ । मूल्य त्यसभन्दा माथि नटिकेसम्म मूल्य घट्ने सम्भावना रहिरहन्छ, विशेषगरी ढुवानीमा सुधार आयो वा वार्ता अघि बढ्यो भने ।’
गत साता ब्रेन्टको मूल्य ०.४ प्रतिशतले सामान्य बढेको थियो तर अमेरिकी डब्लूटीआई ७.९ प्रतिशतले घटेको थियो किनकि अमेरिकाले कीर्तिमानी मूल्य नियन्त्रण गर्न डिजेल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने र त्यसले अमेरिकी प्रशोधन उत्पादन घटाउन सक्ने चिन्ता बढेको थियो ।
‘प्रशोधित तेल उत्पादनहरू दबाबको विन्दु बनेका छन् जहाँ अमेरिकी डिजेलको कीर्तिमानी मूल्यले मुद्रास्फीतिको जोखिम बढाएको छ र सम्भावित निर्यात प्रतिबन्धबारे पुनः बहस सुरु गराएको छ,’ एएनजेडका विश्लेषकहरूले एक टिप्पणीमा भनेका छन् ।
अमेरिकी डिजेल निर्यातमा लगाइने कुनै पनि प्रतिबन्धले अमेरिका बाहिरको आपूर्तिलाई कडा बनाउनेछ र अमेरिकी आपूर्ति घट्ने सम्भावनाप्रति युरोपेली मूल्यहरूले प्रतिक्रिया जनाउनेछन् भनी उनीहरूले थपे ।
यसैबीच साउदी अरब र संयुक्त अरब अमिरातले निर्यात बढाएसँगै सेप्टेम्बर महिनामा प्रमुख मध्यपूर्वी उत्पादकहरूको कच्चा तेल निर्यात बढेर प्रतिदिन १ करोड २८ लाख ब्यारल पुगेको छ । यो फेब्रुअरीमा युद्ध सुरु भएयताकै उच्च हो भनी केपलरको प्रारम्भिक तथ्यांकले सोमबार देखाएको छ ।
तथ्यांकअनुसार, हर्मुज जलयोजक हुँदै हुने ढुवानीमा सुधार आएपछि यो वृद्धि देखिएको हो । यो ढुवानी यस महिना प्रतिदिन करिब ७४ लाख ब्यारल पुग्ने तय थियो किनभने ईस्ट–वेस्ट पाइपलाइनमा क्षति पुर्याउने आक्रमणहरूपछि साउदी अरबले लाल सागरस्थित यान्बु बन्दरगाहबाट हुने निर्यातलाई आफ्नो पूर्वी रास तानुरा बन्दरगाहतर्फ मोडेको थियो ।




Comment