काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री शाहले आफ्नो अमेरिका भ्रमणका क्रममा आफू अनुपस्थित रहने अवधिका लागि अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन्। उनी आज मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा आगामी असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको संशोधित वक्ता सूचीमा नेपालका सरकार प्रमुखका लागि उक्त मिति तोकिएको हो।
महासभामा प्रधानमन्त्री शाहले नेपालमा जलवायु परिवर्तनका कारण देखिएका असर तथा पछिल्लो भोटेकोशी बाढीजस्ता विपद्का विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी रहेको छ। यसअघि महासभामा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा हुने तयारी थियो।
प्रधानमन्त्री शाह महासभामा सहभागी भएर असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।




Comment