काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी नागरिकले नेपाल प्रवेश गरेपछि मुलुकभित्र यात्रा गर्दा भौतिक राहदानी (पासपोर्ट) साथमा बोकेर हिँड्न नपर्ने व्यवस्था लागू गर्ने तयारी अध्यागमन विभागले अघि बढाएको छ।
विदेशी पर्यटकको सुविधा, सुरक्षा तथा अध्यागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभागले ‘पासपोर्ट फ्रि ट्राभल’ अवधारणा कार्यान्वयनको तयारी गरेको हो।
यससम्बन्धी अवधारणापत्र विभागले स्वीकृतिका लागि भदौ ३० गते गृह मन्त्रालयमा पठाइसकेको जनाएको छ। अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार मन्त्रालयबाट स्वीकृति प्राप्त हुनासाथ नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन सकिने गरी आवश्यक तयारी पूरा गरिएको छ।
प्रवक्ता ढकालले यो व्यवस्था ‘भिसा फ्रि ट्राभल’ नभएको स्पष्ट पारेका छन्। उनका अनुसार नेपाल प्रवेश गरिसकेपछि विदेशी नागरिकले आन्तरिक यात्रा तथा विभिन्न सेवा लिँदा भौतिक राहदानी साथमा बोकेर हिँडिरहनु नपर्ने व्यवस्था मात्रै लागू गर्न लागिएको हो।
नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नेपाल प्रवेश गरेका विदेशी नागरिकले होटलमा बस्दा, नयाँ सिमकार्ड लिँदा, विदेशी मुद्रा सटही गर्दा, आन्तरिक हवाई टिकट काट्दा तथा ट्रेकिङमा जाँदा भौतिक राहदानी देखाउनुपर्ने बाध्यता रहने छैन।
यस प्रणालीका लागि विदेशी नागरिकले अध्यागमन विभागको मोबाइल एप डाउनलोड गरी आफ्ना आवश्यक विवरण प्रविष्ट गर्नुपर्नेछ। विवरण दर्ता भएपछि सम्बन्धित विदेशी नागरिकका लागि एपमै विशेष क्युआर कोड सिर्जना हुनेछ।
पर्यटक प्रहरी, नेपाल प्रहरी, अध्यागमन अधिकारी तथा होटल, ट्रेकिङ एजेन्सी, मनी एक्सचेन्जर र एयरलाइन्सजस्ता सेवा प्रदायकले उक्त क्युआर कोड स्क्यान गरी विदेशी नागरिकको भिसा तथा अध्यागमनसम्बन्धी विवरण तत्काल प्रमाणीकरण गर्न सक्नेछन्।
विभागका अनुसार यसबाट यात्राका क्रममा राहदानी हराउने, चोरी हुने वा असुरक्षित हुने जोखिमसमेत कम हुनेछ।
अध्यागमन विभागले सन् २०२६ जनवरी १ देखि सञ्चालनमा ल्याएको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ को दोस्रो चरण तथा सुदृढीकरणका रूपमा मोबाइल एप र क्युआर प्रणाली विकास गरेको हो।
तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरेको उक्त प्रणालीमा हालसम्म १ हजार ६५२ सेवा प्रदायक संस्था आबद्ध भइसकेको विभागले जनाएको छ।
होटल, ट्रेकिङ तथा ट्राभल एजेन्सी, मनी एक्सचेन्जर र आन्तरिक वायुसेवा कम्पनीलगायत सेवा प्रदायकलाई प्रणालीमा पूर्ण रूपमा आबद्ध गराई विदेशी नागरिकसम्बन्धी विवरण प्रविष्ट गर्न प्रोत्साहित भइरहेको विभागको भनाइ छ।
डिजिटल प्रणालीले विदेशी पर्यटकको सुरक्षा, अनुगमन तथा आपत्कालीन उद्धार कार्यलाई समेत प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
हालै रसुवालगायत पर्यटकीय क्षेत्रमा विपद् तथा आपत्कालीन अवस्था उत्पन्न हुँदा पर्यटकहरूको यकिन उपस्थिति पहिचान गर्न कठिनाइ भएको उदाहरण दिँदै प्रवक्ता ढकालले सेवा प्रदायक संस्थाले प्रणालीमा विवरण अद्यावधिक गरेपछि पर्यटक कुन होटल वा स्थानमा छन् भन्ने जानकारी तत्काल प्राप्त गर्न सकिने बताएका छन्।
यसले विपद्का समयमा खोज तथा उद्धार कार्यलाई थप सहज बनाउने विभागको विश्वास छ।
त्यसैगरी, डिजिटल प्रणालीले विदेशी नागरिकसम्बन्धी अपराध अनुसन्धान तथा समग्र सुरक्षा व्यवस्थापनमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाअन्तर्गत विदेशी नागरिकले नेपाली नागरिक एपमार्फत आफ्नो यात्रा इतिहास (ट्राभल हिस्ट्री) डाउनलोड गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
उक्त यात्रा इतिहास मेडिकल काउन्सिल, बीमा तथा शैक्षिक समकक्षता लगायत आवश्यक प्रयोजनमा प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको विभागले जनाएको छ।
अध्यागमन विभागका अनुसार प्रणाली सञ्चालनका लागि आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति, सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) तथा २४ घण्टा सञ्चालन हुने हेल्पलाइन समेत व्यवस्थापन भइसकेको छ।
गृह मन्त्रालयबाट औपचारिक स्वीकृति प्राप्त भएपछि ‘पासपोर्ट फ्रि ट्राभल’ प्रणालीलाई देशभर पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ।




Comment