काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति समीकरणमा परिवर्तनको संकेत देखिन थालेको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षमा रहेका नेताहरू सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन थालेपछि कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ बहस सुरु भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठक गगन थापा सभापति निर्वाचित भएपछि र १४औँ महाधिवेशनबाट निर्वाचित पुरानो केन्द्रीय कार्यसमितिलाई समेत १५औँ महाधिवेशन प्रक्रियामा समेट्ने निर्णयपछि बस्न लागेको पहिलो बैठक हो।
बैठकमा सहभागी हुन पुगेका नेताहरूमा उपाध्यक्ष महालक्ष्मी डिना, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, ज्ञानेन्द्रबहादुर कार्की, मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, इश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति विक परियार र गणेश लामा रहेका छन्। यस्तै, डा. शेखर कोइरालानिकट नेतृ किरण यादव पनि बैठकमा सहभागी भएकी छन्।
कांग्रेस स्रोतका अनुसार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरू यसअघि नै महाधिवेशन प्रक्रियामा सहभागी हुने सहमतिमा पुगेका थिए। अहिले देउवा पक्षसँग निकट मानिएका नेताहरूको सहभागिताले कांग्रेसभित्रको पुरानो गुटीय संरचनामा नयाँ पुनर्संरचनाको संकेत दिएको छ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमिति गठन भएपछि कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित भएको थियो। थापा नेतृत्वको विशेष महाधिवेशनलाई देउवा पक्षले अस्वीकार गर्दै आएको छ भने पार्टीको वैधानिकता, नेतृत्व र महाधिवेशन प्रक्रियालाई लिएर विवाद कायम छ।
तर १५औँ महाधिवेशनलाई केन्द्रमा राखेर थापा नेतृत्वको कार्यसम्पादन समितिले विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान संरचनामा सहभागी गराउने निर्णय गरेपछि राजनीतिक वातावरण केही बदलिएको देखिएको छ। थापाले देउवासहित बाहिर रहेका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई महाधिवेशन प्रक्रियामा सहभागी हुन सार्वजनिक आग्रह गरेका छन्।
यद्यपि, सानेपाको बैठकमा सहभागिता जनाउँदैमा सम्बन्धित नेताहरूले आफ्नो पुरानो राजनीतिक समूह त्यागेको निष्कर्ष निकाल्न भने सकिँदैन। कतिपय नेताहरू महाधिवेशन प्रक्रियालाई संस्थागत गर्न र पार्टीलाई एउटै प्रक्रियामा अघि बढाउन सहभागी भएको तर्क पनि कांग्रेसभित्र सुनिन थालेको छ।
पूर्वसभापति देउवाले भने थापा नेतृत्वको विशेष महाधिवेशन र त्यसबाट बनेको केन्द्रीय कार्यसमितिलाई अवैधानिक बताउँदै आएका छन्। उनले आफ्नो समूहलाई थापा पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन आग्रह गर्दै अलग प्रक्रियामा साथ दिन आह्वान गरेका छन्।
तर देउवा पक्षसँग निकट मानिएका नेताहरू क्रमशः थापा नेतृत्वको बैठकमा देखिन थालेपछि कांग्रेसभित्र नेतृत्वको विवादभन्दा महाधिवेशन प्रक्रियामा सहभागिताको विषयलाई फरक ढंगले हेरिन थालेको संकेत मिलेको छ।
यसअघि पनि देउवा पक्षका ३१ जना नेता थापा नेतृत्वको कार्यसमितिमा समाहित हुने तयारीमा रहेको चर्चा सार्वजनिक भएको थियो। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णयलाई त्यसको आधारका रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसको पछिल्लो घटनाक्रमलाई केवल ‘देउवा छाडेर गगनतर्फ’ भन्ने कोणबाट मात्र बुझ्न पर्याप्त हुँदैन। अहिलेको मुख्य प्रश्न पार्टीको आगामी महाधिवेशनमा पुरानो नेतृत्व संरचना र नयाँ नेतृत्वबीचको सम्बन्ध कसरी व्यवस्थापन हुन्छ भन्ने हो।
विशेष महाधिवेशनपछि दुई धारमा देखिएको कांग्रेसलाई १५औँ महाधिवेशनले एउटै प्रक्रियामा ल्याउने सम्भावना बढाएको छ। पुरानो केन्द्रीय कार्यसमितिका सदस्यलाई नयाँ संरचनामा सहभागी गराउने निर्णयले कम्तीमा महाधिवेशन प्रक्रियामा साझा आधार निर्माण गरेको देखिन्छ।
अब सानेपाको बैठकमा सहभागी भएका नेताहरूले गगन थापा नेतृत्वलाई राजनीतिक रूपमा स्वीकार गरेका हुन् वा केवल महाधिवेशन प्रक्रियामा सहभागी भएका हुन् भन्ने विषय आगामी दिनमा उनीहरूको सार्वजनिक अभिव्यक्ति र राजनीतिक गतिविधिबाट स्पष्ट हुने अपेक्षा गरिएको छ।
हालका घटनाक्रमले भने कांग्रेसभित्र पुराना गुटीय संरचनाहरू पुनः व्यवस्थित हुने संकेत दिएका छन्। १५औँ महाधिवेशनसम्म पुग्दा पुराना समूहहरू कुन रूपमा पुनर्गठित हुन्छन् र गगन थापाले ती धारहरूलाई आफ्नो नेतृत्वमा कसरी समेट्छन् भन्ने विषय कांग्रेस राजनीतिमा चासोको केन्द्र बन्ने देखिएको छ।




Comment