काठमाडौं । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। उक्त परिमाण करिब ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो।
निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार इण्डियन आयल कर्पोरेशन (आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको छ।
नेपालमा मासिक करिब ४७ हजार मेट्रिक टन एलपी ग्यास खपत हुँदै आएको छ। तर, पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि तराईका उद्योगमा ग्यास रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको निगमले जनाएको छ।
भदौ १८ गतेदेखि २७ गतेसम्म त्रिभुवन राजपथ तथा बीपी राजमार्ग हुँदै ल्याइएका करिब ३ लाख ९९ हजार ५२९ वटा ग्यास सिलिण्डर उपभोक्तालाई वितरण गरिएको सुवेदीले जानकारी दिए।
पछिल्लो १० दिनमा उपत्यकामा दैनिक औसत ४० हजार सिलिण्डर ग्यास बिक्री वितरण भइरहेको छ। मुख्य राजमार्ग सञ्चालनमा नआएसम्म तराईका उद्योगमा ग्यास भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याएर बिक्री वितरण गरिने निगमले जनाएको छ।
मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले भदौ १४ गतेदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीस्थित उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो।
निगमका अनुसार बाटो सञ्चालनमा आएलगत्तै सोही रुटबाट एलपी ग्यासका बुलेट नियमित रूपमा काठमाडौं आउनेछन्। काठमाडौंमा वितरण गर्ने उद्योगले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी बजारमा पठाउन थालेपछि आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ।
आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोलीसमेत गठन गरिएको निगमले जनाएको छ। सरकारले ग्यास भरिएका सिलिण्डर लुकाउने तथा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्धको कारबाहीलाई पनि तीव्र बनाएको छ।
अनुगमनका क्रममा लुकाएर राखिएका करिब १ हजार २०० थान सिलिण्डर उपभोक्तालाई वितरण गरिएको छ। अनियमितता गर्ने विक्रेतालाई जरिवाना गरिएको निगमले जनाएको छ।
ग्यास सिलिण्डरको बिक्री वितरणलाई थप पारदर्शी बनाउन अनलाइन ट्रयाकिङ प्रणाली विकास गर्ने पहलसमेत भइरहेको सहप्रवक्ता सुवेदीले जानकारी दिए।
गत वर्षको तुलनामा ग्यासको आयात र बिक्री बढ्यो
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा एलपी ग्यासको आयात तथा बिक्री बढेको निगमले जनाएको छ। गत वर्षको साउन र भदौको तुलनामा चालु आवको सोही अवधिमा करिब १२ लाख बढी सिलिण्डर बजारमा पुगेका छन्।
गत वर्ष साउनमा ३१ लाख २१ हजार ४८ सिलिण्डर ग्यास बिक्री भएकोमा चालु आवको साउनमा ४० लाख ३६ हजार ३६४ सिलिण्डर बिक्री भएको निगमले जनाएको छ।
त्यस्तै, गत वर्ष भदौमा ३३ लाख ५५ हजार ९६० सिलिण्डर बिक्री भएको थियो। चालु आवको भदौ २७ गतेसम्म मात्रै ३७ लाख १३ हजार ८९४ सिलिण्डर बजारमा पठाइएको निगमले जनाएको छ।
निगमले वैकल्पिक मार्ग प्रयोग गरेर आपूर्ति व्यवस्थालाई निरन्तरता दिइरहेकाले तत्काल ग्यासको अभाव हुन नदिने जनाएको छ।




Comment