काठमाडौं । नुवाकोट र रसुवामा प्राकृतिक विपत्तिका कारण १७ वटा बैंक शाखामा ठूलो क्षति पुगेको छ। प्राप्त विवरणअनुसार ती शाखाको ५५ करोड ६८ लाख ७० हजार ५१७ रुपैयाँ बराबरको स्थिर सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
यो क्षति बैंकको भल्टमा रहेको नगदबाहेकको हो।
सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकको त्रिशुली शाखामा भएको छ। उक्त शाखामा मात्रै करिब ५० करोड रुपैयाँ बराबरको सम्पत्ति नोक्सान भएको प्रारम्भिक अनुमान छ।
यस्तै, सिटिजन्स बैंकको देवीघाट शाखामा १ करोड २० लाख, लक्ष्मी सनराइज बैंकको टिमुरे शाखामा ८६ लाख र हिमालयन बैंकको बेत्रावती शाखामा करिब ५८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
रसुवाको टिमुरेमा रहेका ग्लोबल आईएमई, माछापुच्छ्रे, नबिल, एनआईएमबी र सानिमा बैंकका शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
विपत्तिका कारण बैंकमा कार्यरत २६ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना कर्मचारी बेपत्ता छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका टिमुरे, स्याफ्रुबेसी र मैलुङ काउन्टरबाट ७ जना बेपत्ता छन् भने ६ जना घाइते भएका छन्।
त्यस्तै, प्रभु बैंकका टिमुरे र स्याफ्रुबेसी शाखाबाट ४ जना बेपत्ता हुँदा ५ जना घाइते भएका छन्। सानिमा बैंक टिमुरे र लक्ष्मी सनराइज बैंक टिमुरे शाखाका २–२ जना कर्मचारी पनि सम्पर्कविहीन छन्।
हिमालयन बैंक बेत्रावती र ग्लोबल आईएमई बैंक टिमुरे शाखाका १–१ जना कर्मचारी बेपत्ता छन् भने कृषि विकास बैंक त्रिशुली शाखाका १ जना कर्मचारी घाइते भएका छन्।
बाढीका कारण बैंकका भल्टमा रहेको करोडौं रुपैयाँ नगदसमेत हराएको वा नष्ट भएको छ। १७ वटा शाखाको भल्टमा रहेको कुल १७ करोड २४ लाख ५७ हजार ३७४ रुपैयाँ नगद हराएको विवरण छ।
त्यस्तै, काउन्टरमा रहेको थप १ करोड १७ लाख ७१ हजार १९५ रुपैयाँ पनि बाढीले बगाएको छ। अधिकांश बैंकका एटीएम तथा लकरसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
यी १७ वटा शाखामा कुल ७८ हजार २०४ निक्षेप खाता र २ हजार १२५ कर्जा खाता रहेका छन्।
ती शाखामार्फत बैंकहरूले ४ अर्ब ४३ करोड १८ लाख १० हजार ४२८ रुपैयाँ निक्षेप परिचालन गरेका थिए भने २ अर्ब ४२ करोड ८० लाख ९० हजार ४७० रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
प्राकृतिक विपत्तिले बैंकका भौतिक संरचना र नगदमा मात्रै नभई नुवाकोट र रसुवाको स्थानीय बैंकिङ तथा वित्तीय प्रणालीमा समेत ठूलो असर पारेको छ।






Comment