काठमाडौं । रसुवा बाढीबाट प्रभावितलाई सहयोग गर्ने भन्दै बाढी पीडितको नाममा ठगी हुन सक्ने भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ । प्रहरीले सहयोग रकम प्रधानमन्त्री राहत कोषमै जम्मा गर्न समेत प्रहरीले भनेको छ ।
यसरी ठगी सुरू भएको पाइएपछि नेपाल प्रहरीले ‘स्क्याम अलर्ट’ जारी गरेको छ ।
विपद्को समयमा सर्वसाधारणको सहयोगी भावनालाई दुरुपयोग गर्दै केही व्यक्ति तथा समूहले व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम जम्मा गर्न आग्रह गर्ने र फर्जी राहतका नाममा रकम माग गरिरहेको प्रहरीले जनाएको छ ।
यस्ता भ्रामक र अवैध गतिविधिबाट बच्नका लागि प्रहरीले आधिकारिक माध्यमबाट मात्र सहयोग गर्न सर्वसाधारणमा विशेष अनुरोध गरेको छ ।
सहयोग गर्न चाहनेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित आधिकारिक फेसबुक पेजमा उल्लेखित विवरणका आधारमा मात्र आफ्नो योगदान पुऱ्याउन प्रहरीले आग्रह गरेको छ । व्यक्तिगत खातामा रकम माग्ने कार्य पूर्णतया अवैध भएकाले यस्ता कुराको पछि नलाग्न प्रहरीको सुझाव छ ।
यदि कसैले विपद् राहतको नाममा आर्थिक ठगी गरेको वा त्यस्तो प्रयास गरेको शंका लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न भनिएको छ ।
यसका साथै प्रहरीले सूचना अधिकारीको सम्पर्क नम्बर ९८५१२८६७७२ तथा अन्य नम्बरहरू ९८५१२८६७७१ र ९८५१२८६७७० समेत उपलब्ध गराएको छ । यस्ता ठगी कार्यमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएकाले नागरिकहरूलाई सचेत रहन र आधिकारिक सूचनाको मात्र विश्वास गर्न अपिल गरिएको छ ।





Comment